काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोरु गाउँपालिका मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल, इन्जिनियर, वडाध्यक्ष, निर्माण समितिका अध्यक्षसमेत ८ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।
उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै आयोगले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । आयोगले सोही कार्यमा संलग्न रहेका असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।
त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा मुगुको सोरु गाउँपालिका वडा नं. ७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको अख्तियारले आरोप छ ।
वास्तविकभन्दा कम चौडाइ कायम गरेको, फर्जी प्रतिवेदनका आधारमा भुक्तानी दिएको र निर्माण सम्झौता बमोजिम काम नगरेको अख्तियारको भनाई छ । उनीहरु विरुद्ध जनही १३ लाख ७२ हजार बिगो कायम गरी कैद र जरिवाना गर्न मागदाबी गदै आयोगले शुक्रबार विशेष अदालत काठमडौंमा मुद्दा दायर गरेको हो ।