काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुको सवा ५५ करोड रुपैयाँ रकम फिर्ता गरेको छ । कार्यालयले समस्याग्रस्त सहकारीका एक हजार १११ पीडितलाई ५५ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बराबरको रकम फिर्ता गरेको हो ।
कार्यालयको पछिल्लो विवरण अनुसार आर्थिक वर्ष २०७९/८० सम्म समस्याग्रस्त घोषित सहकारीका १२ सहकारीका बचतकर्ताहरुको सो बराबरको रकम फिर्ता गरिएको हो ।
उक्त सहकारीविरुद्ध आवेदन दिएका पीडित बचतकर्तामध्ये ५२ हजार २७४ पीडितको २५ अर्ब ५५ करोड ३७ लाख १३ हजार ९७८ रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको छ ।
कार्यालयका अनुसार समस्याग्रस्त २० सहकारी विरुद्ध ५३ हजार ३८५ बचतकर्ताले ३५ अर्ब ९८ करोड ८० लाख ७२ हजार ४४१ रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमध्ये कुबेर बचत तथा ऋण सहकारीका १० पीडितको ५७ लाख ६३ हजार ४७७ रुपैयाँ र स्ट्याण्डर्ड मल्टीप्रपोजको १६ बचतकर्ताको ७५ करोड २८ लाख ८२४ रुपैयाँ फिर्ता गरिसकेको कार्यालयले जनाएको छ ।
कुन सहकारी पीडितले कति पाए रकम ?
कार्यालयका अनुसार स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८१ बचतकर्ताको २ करोड ६८ लाख ५५ हजार रुपैयाँ फिर्ता गरिएको छ । भने ८ करोड ४० लाख ३८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । उक्त सहकारी विरुद्ध १७५ बचतकर्ताले ११ करोड ८ लाख ९३ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए ।
प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभका १८६ बचतकर्ताको ३६ करोड ३७ लाख ५ हजार रुपैयाँ फिर्ता गरिएको छ । भने १२ करोड ३६ लाख ९३ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । उक्त सहकारी विरुद्ध ३५२ बचतकर्ताले ४८ करोड ७३ लाख ९८ हजार ९१३ रुपैयाँ बराबरको मागदावी गरेका थिए ।
कार्यालयका अनुसार सोसाइटल बचत तथा ऋण सहकारी विरुद्ध २४० बचतकर्ताले १० करोड ८७ लाख ४१ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा १६२ बचतकर्ताको ५ करोड ९८ लाख १९ हजार रुपैयाँ फिर्ता गरिएको छ भने चार करोड ८९ लाख २२ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
प्रभु बचत तथा ऋण सहकारीका २० बचतकर्ताले ३२ लाख ५७ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध १३८ बचतकर्ताले १३ करोड २० लाख ८९ हजार रुपैयाँको मागदावी गरेका छन् । ११८ बचतकर्ताको १२ करोड ८८ लाख ३२ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले चार्टड सेभिङ एण्ड क्रेडिट को –अपरेटिभको १४ बचतकर्ताको ८४ लाख ११ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । मागदावी परेका सबै बचतकर्ताको रकम फिर्ता गरिएको कार्यालयले जनाएको छ ।
लुनिभा बहुउद्देश्यीय सहकारीका १०३ बचतकर्ताले ५ करोड ६८ लाख ५ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध २१४ बचतकर्ताले ११ करोड ७४ लाख ४४हजार रुपैयाँको मागदावी गरेका छन् । १११ बचतकर्ताको ६ करोड ६ लाख ३८ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ओरियन्टल सहकारी विरुद्ध ४ हजार २५९ बचतकर्ताले तीन अर्ब १९ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा ५१९ बचतकर्ताको दुई करोड रुपैयाँ फिर्ता गरिएको छ भने तीन हजार ७४० पीडितको तीन अर्ब १७ करोड ५० लाख २२ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कञ्जुमर बचत तथा ऋण सहकारीका बचतकर्ताले तीन लाख रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध ५६ बचतकर्ताले चार करोड ३४ लाख ७८ हजार रुपैयाँको मागदावी गरेका छन् । बचतकर्ताको चार करोड ३१ लाख ७८ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यस बाहे समस्याग्रस्त अन्य दश सहकारीको बचत फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
Advertisment