काठमाडौं : नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले यस वर्ष ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा “हाम्रो भूमि, हाम्रो भविष्य” नाराका साथ विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२३ पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ ।
कान्तिपुर पब्लिकेशन बझाङमा कार्यरत पत्रकार सिंहलाई निरन्तर रूपमा वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत नगद तथा प्रमाण–पत्र प्रदान गरिनेछ ।
समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२३ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञसदस्य सरिता ज्ञवाली सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको हो ।
समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२३’ पाउने उनी ३७ औँ पत्रकार हुन् । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।