काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई हालसम्म नौं अर्ब बढी दावी भुक्तानी गरेको छ । कोषले योगदानकर्तालाई विभिन्न सुविधाको शीर्षकमा हालसम्म ९ अर्ब ८ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो ।
कोषले योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरि चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ । हालसम्म कोषमा ५५ अर्ब तीन करोड रुपैयाँ योगदान रकम संकलन भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै वृद्ध अवस्था सुरक्षा योजनामा दावी भुक्तानी गरेको कोषले जनाएको छ । वृद्ध अवस्था सुरक्षा योजनामा कोषले ७ अर्ब ७५ करोड २५ लाख ७३ हजार दावी भुक्तानी दिएको छ ।
उक्त योजनामा ४६ अर्ब २२ करोड ४६ लाख ७ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ । वृद्ध अवस्था सुरक्षा योजना मार्फत जेठ २३ गतेसम्म ८२ हजार ७५८ वटा दावी भुक्तानी गरिएको कोषले जनाएको छ ।
यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना मार्फत एक अर्ब ६ करोड ४७ लाख ९१ हजार रुपैयाँ दावी भुक्तानी भुक्तानी भएको छ । कोषका अनुसार यस योजनामा दावी गर्नेको संख्या ६२ हजार ८१२ रहेको छ भने २ लाख ३३ हजार १४४ पटक भुक्तानी गरिएको कोषले जनाएको छ । उक्त योजनामा एक अर्ब ५८ करोड ४८ लाख २६ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।
त्यसैगरि दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत १२ करोड १२ लाख ६८ हजार रुपैयाँ र आश्रित परिवार सुरक्षा योजना मार्फत भने १४ करोड ३७ लाख ७८ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । यी दुई योजनामा तीन अर्ब ३० करोड ३४ लाख ८३ हजार रुपैयाँ योगदान रकम संकलन भएको कोषले जनाएको छ ।
यस अवधिमा कोषले अतिरिक्त योगदान मार्फत ९७ करोड एक लाख १२ हजार रुपैयाँ र प्रतिफल अन्तर्गत २ अर्ब ९५ करोड ४९ लाख २९ हजार रुपैयाँ योगदान रकम संकलन गरेको छ ।
थपिँदै रोजगारदाता
हालसम्म कोषमा १३ लाख बढी श्रमिक आवद्ध भएका छन् । कोषमा १३ लाख ६८ हजार ५९१ योगदान कर्ता रहेका छन् भने सूचीकृत रोजगार दाताको संख्या १८ हजार ९६२ रहेको छ ।
कोषका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशबाट ३ लाख ८३ हजार ६३९ योगदानकर्ता सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ५० हजार ९९०, मधेशबाट २५ हजार ३३०, गण्डकीबाट १९ हजार ७०८, लुम्बिनीबाट १७ हजार ३२६, कर्णालीबाट एक हजार ७५३ र सुदुरपश्चिमबाट २ हजार ८४ योगदानकर्ता सूचीकृत भएका हुन् ।
कोषमा आवद्ध हुने रोजगारदाताको संख्या १८ हजार ९६२ पुगेको छ । जसमध्ये बागमती प्रदेशबाट १३ हजार ४९, कोशीबाट एक हजार ९८८, मधेशबाट ९२२, गण्डकीबाट ८८९, लुम्बिनीबाट १ हजार ५७६, कर्णाली प्रदेशबाट २५९ र सुदपश्चिमबाट २७९ रोजगारदाता आवद्ध भएका हुन् ।