चालु खाता करिब दुई खर्बले बचतमा 

चालु खाता करिब दुई खर्बले बचतमा 

काठमाडौं : चालु खाता करिब २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाखसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म चालु खाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ । यस अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई रु.५ अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ९८ करोडले धनात्मक रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२०९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।
 

थप समाचार