काठमाडौं : पछिल्लो समय नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेश जानु सामान्यजस्तै बन्न थालेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्यार्थी भिसा च्यापेर देश छाड्न तयार भएका युवाहरुको जमात थामी नसक्नु छ ।
नेपालमा दर्जनको हाराहारीमा विश्वविद्यालय छन् सिप आर्जनका लागि इन्स्टिच्युट र प्राविधिक शिक्षालयको पनि समस्या छैन तर विद्यालय तहको अध्ययनपछि उच्च शिक्षाका लागि बाहिरने ट्रेन्ड नै बसेको छ ।
कोरोना महामारी पछि नो अब्जेक्न लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ठूलो मात्रामा बढेको हो । अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढेसँगै नेपालबाट विदेशिने पैसा पनि बढेको छ ।
सरकारले विदेशी सम्बन्धनका कलेजको नयाँ अनुमति भने रोकेको छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढेसँगै सरकारले विदेश अध्ययनका लागि अनुमति लिइने नो अब्जेक्सन लेटर (एनओसी) मा कडाइ गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
उच्च शिक्षाका नाममा बाहिरिने रकमले विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने गर्छ । यद्यपी पछिला केही महिना यता रेमिट्यान्स आप्रवाहमा देखिएको सुधारले विदेशी विनिमय सञ्चितिमा दबाब परेको छैन ।
तर, विदेशी विनिमय सञ्चितिमा दबाद नपरेपनि शिक्षाका नाममा ठूलो रकम बाहिरिनुले अर्थतन्त्रमा ठूलो असर पर्ने गर्छ ।
सरकारले विदेश अध्ययन प्रणाली खुकुलो भएसँगै यो संख्या उच्च रुपमा बढ्न थालेको हो । चालु आर्थिक वर्षको दश महिनामा उच्च शिक्षाका नाममा एक खर्ब बढी रकम रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको हो । गत वर्षको सोही अवधिमा उच्त शिक्षाका नाममा ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको थियो ।
नेपालबाट धेरैजसो विद्यार्थीहरुले जापान अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिकालगायतका देशमा अध्ययनका लागि एनओसी लिने गरेका छन् ।
९० हजार बढीले लिए एनओसी
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आवको बैशाख मसान्तसम्म विभिन्न देशका लागि ९० हजार भन्दा बढी विद्यार्थीहरुले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् ।
बैशाख २५ गतेसम्म कुल ९० हजार ८७६ विद्यार्थीलाई एनओसी प्रदान गरिएको शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले जानकारी दिए । उनका अनुसार यस अवधिमा सबै भन्दा बढी जापानका लागि ३० हजार ११४ जनाले एओसी लिएका छन् । पछिल्लो समय जापान नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बनेको छ ।
यस अवधिमा अमेरिकाका लागि ७ हजार ४७२ जना, अष्ट्रेलियाका लागि १२ हजार ५५८ जना, बंगलादेशका लागि ४०३, क्यानडाका लागि १५ हजार २३७ जना, बहराइनका लागि १०३ जान, चीनका लागि ३५७ जना र डेनमार्कका लागि एक हजार २४९ जनाले एनओसी लिएका छन् ।
त्यसैगरी फिनल्याण्डका लागि एक हजार २२३ जना, फ्रान्सका लागि ९५४ जना, जर्मनीका लागि ५२६ जना, हंगेरीका लागि १०४ जना, भारतका लागि एक हजार ९६८ जना, जापानका लागि ३० हजार ११४ जना, मलेसियाका लागि १४३ जनाले एनओसी लिएका छन् ।
मन्त्रालयका अनुसार बैशाखसम्म माल्टाका लागि ३५७ जना, न्युजिल्याण्डका लागि ९९१ जना, फिलिपिन्सका लागि १३२ जना, कोरियाका लागि तीन हजार ७३० जना, स्पेनका लागि १२३ जना, स्वीडेनका लागि १७८ जना, थाइल्याण्डका लागि ४१६ जना, युएईका लागि एक हजार ७९० जना र बेलायतका लागि ९ हजार ५६९ जनाले एनओसी लिएका छन् ।
विदेश भ्रमणमा बाहिरियो डेढ खर्ब
राष्ट्र बैंकका अनुसार चालु आवको दश महिनामा विदेश भ्रमणमा डेढ खर्ब रुपैयाँ बाहिरिएको छ । यस अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९.५ प्रतिशतले वृद्धि भई १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब ५२ करोड रहेको थियो ।
त्यसैगरी बैशाख मसान्तसम्म खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो ।
यस अवधिमा भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रहेको थियो ।
Advertisment