Below Menu
Below Menu

‘मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गर्नुपर्छ, कृषिमा आधारित उद्योगभन्दा खोल्नुपर्छ’ 

‘मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गर्नुपर्छ, कृषिमा आधारित उद्योगभन्दा खोल्नुपर्छ’ 

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरुले कृषिप्रधान मुलुकले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने र यसकार्यमा राज्यले विशेष ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटाले कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भर हुनु परेको उल्लेख गर्दै आत्मनिर्भर बन्ने गरी सरकारले विशेष कार्यक्रम अगाडि सार्नुपर्ने बताए । “कृषिप्रधान देश हो तर हामी आफैँले खान पुग्नेगरी खाद्यान्न तरकारी फलफूल पनि उत्पादन गर्न सकिरहेका छैनौँ, परनिर्भर हुनुपरेको छ”, सांसद सापकोटाले भने, “प्राकृतिक स्रोतहरु परिचालन गर्न जानेका छैनौँ, प्लाष्टिकजन्य सामग्रीलाई बढी कर लगाउनुपर्छ, नेपालकै दुनाटपरी प्रयोग गर्नुपर्छ, जसलेगर्दा मुलुक आत्मनिर्भर हुन्छ । यस विषयमा सरकारको ध्यान जाओस् ।” 

जलवायु परिवर्तनका कारण हिमाल कालापहाडमा परिणत भएका, धेरै नागरिक पहाडबाट तराई झरेका र तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएका तर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुमित्रा विसीले मुलुकलाई आत्मनिर्भर बनाउने किसिमका उद्योगधन्दा र कृषिजन्य उत्पादन बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । “मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गर्नुपर्छ, कृषिमा आधारित उद्योगभन्दा खोल्नुपर्छ”, उनले भने, “समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्नका लागि मुलुकलाई विकासको बाटोमा डोर्याउन जरुरी छ ।”

उनले भूकम्प प्रभावितलाई अझै घर निर्माण नभएका र पहिलो किस्ता पनि ६० प्रतिशतले नपाएको गुनासो आइरहेको उल्लेख गर्दै टिनको टहरामा बस्नुपर्दा गर्मी, सर्पको डर र विभिन्न खालको हिंसा हुने खतरातर्फ पनि सरकार सचेत हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका नारायणदत्त मिश्रले बजेटमा प्रभावशाली नेताका जिल्लामा धेरै बजेट र अरु नेताहरुको जिल्लामा बजेट नै नभएको गुनासो गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारी विद्यालयमा तालिममा धेरै खर्च गरिए पनि शिक्षण सिकाइमा धेरै सुधार हुन नसकेकोकाले यस विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे ।  साथै, उनले सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

एमालेका सोनाम गेल्जेन शेर्पाले जलवायु परिवर्तनले विकराल अवस्था ल्याएको भन्दै सगरमाथाको आधार शिविरमा फोहरमैला व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । उले जलवायु परिर्वतनका कारण हिमालमा गम्भीर असर परेकाले न्यूनीकरणका लागि प्रयास गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उर्मिला अर्यालले राज्यको आर्थिक स्रोतको दुरुपयोग गर्दै राजनीतिक पहुँच बढाउनेलाई कारबाही गर्नुपर्ने बताए । उनले झोलुङ्गे पुलको नियमित मर्मत गर्ने, विकल्पमा पक्की पुल बनाउनुपर्ने र विगतमा लापरबाही गरेका ठेकेदारहरुलाई कारबाही गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का मदनकुमारी शाह ९गरिमा०ले भूकम्प प्रभावित क्षेत्रजस्तै सल्यान, रुकुमपश्चिम र जाजरकोटको पुनःनिर्माणमा तीव्रता दिन माग गरे । 

सांसद विष्णुबहादुर विश्वकर्माले कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको बीचमा रहेको झोलुङ्गे पुलको लट्ठा चुडिँदा १४ वटा खच्चड पुुलमा परेका र समयमा उद्धार गर्न नसक्दा दुई खच्चडको मृत्यु भएकोप्रति दुःख व्यक्त गरे । झक्कुप्रसाद सुवेदीले खास परिस्थितिमा देशमा निरासा देखिनु स्वभाविक भएको उल्लेख गर्दै सबैले निरासा बाँड्ने काम गर्न नहुनेमा बताए ।

उनले नयाँ पार्टीहरु पुराना पार्टीको वितृत्णाको कारण नभई नेपालको संविधानले गरेको व्यवस्थाअुनसार आएको र अब संविधान रक्षाका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

यस्तै, सांसद विष्णुदेवी पुडासैनीले महँगी बढ्दै गएको तर निरीक्षण तथा अनुगमनको कुनै पनि व्यवस्था नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले विकास निर्माण, सडक, पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 

Advertisment

थप समाचार