काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर गरेको छ ।
भरत ताल निर्माणमा ३० करोड रुपैयाँको अनियमितता गरेको भन्दै आयोगले मंगलबार थापासहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मेयर थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी छ ।
यसअघि आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा गत चैत २८ गते विशेष अदालतमा मुद्दा दर्ता गरकेो थियो । थापाले पाँच करोड ३३ लाख ५३ हजार १८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै आयोगले मुद्दा दायर गरेको थियो ।
नगरपालिकाको वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको अख्तियारको भनाई छ ।
सोही प्रकरणमा अख्तियारले नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि जनही ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।
आयोगले जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मात्रै मागदाबी गरिएको छ । उनीहरूविरुद्ध भरत ताल निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको बिक्रीवितरणमा अनियमितता भएको उजुरी परेको थियो ।