काठमाडौं : संघीय सहकारी विभागले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेको छ । कानूनको परिपालना गर्दै सदस्यहरुको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशिल रहन सहकारीलाई आग्रह गरेको हो ।
विभागका रजिष्ट्रारले एक सूचना जारी गर्दै सहकारीबाट लिएको ऋण समयमै भुक्तान गर्न समेत सदस्यहरुलाई आग्रह गरेको छ । सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको सावाँ र ब्याज लगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमामै भुक्तान गरी जिम्मेवार सदस्यको दायित्व पूरा अनुरोध गरेको छ ।
रष्ट्रिारद्वारा जारी सूचनामा भनिएको छ, ‘सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ। सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्तामा नकरात्मक असर परेको छ । सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० मा सहकारी संस्थाहरुले ऋण तथा बाँकी बक्यौता असुली गर्ने सम्बन्धी व्यवस्थाहरु रहेको व्यहोरा सबैमा विदित नै छ । अतः प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरुको बचत समयमा फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशिल रहन जानकारी गराईन्छ ।’
Advertisment