विदेशी लगानी ३०.२८ प्रतिशतले बढ्यो, एघार महिनामा भित्रियो ६५ अर्ब बढी 

विदेशी लगानी ३०.२८ प्रतिशतले बढ्यो, एघार महिनामा भित्रियो ६५ अर्ब बढी 

काठमाडौं : पछिल्लो समय नेपाल भित्रिने वैदेशिक लगानी बढ्न थालेको छ । चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्म साढे ६५ अर्ब बढी रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको हो । 

यस अवधिमा सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ३७१ उद्योगका लागि ६५ अर्ब ९ करोड ६५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत आवको सोही अवधिको तुलनामा ३०.२८ प्रतिशतले बढी हो । जबकी गत वर्षको सोही अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ३४० उद्योगका लागि ४९ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

यस अवधिमा विदेशी लगानीका ३५९ नयाँ उद्योगका लागि ४४ अर्ब ४० करोड ८  लाख २६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एसपीए र एसएसएका ५२ उद्योगका लागि ९ अर्ब ५१ करोड ४५ लाख ६८ रुपैयाँ प्रतिवद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटबाट ११ अर्ब भन्दा बढी विदेही लगानी प्रस्ताव आएको छ । लगानी सम्मेलनको अवसरमा उद्योग विभागले गत वैशाख १६ गतेबाट यो प्रणाली सञ्चालनमा ल्याएको थियो । सञ्चालनमा आएको केही महिनामै अटोमेटिक रुटबाट विभिन्न ९० कम्पनीका लागि ११ अर्ब १८ करोड ११ लाख ८० हजार रुपैयाँ विदेशी लगानी प्रसताव आएको हो । 

एक महिनामा भित्रियो साढे ११ अर्ब 

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित बनेको विदेशी लगानीमा केही मात्रामा बढ्न थालेको हो । गत बैशाखको तुलनामा जेठमा महिनामा उक्त लगानी २ अर्ब १० करोड ४० लाख रुपैयाँ बढी लगानी घटेको छ । 

उद्योगको विभागको पछिल्लो तथ्यांक अनुसार जेठमा साढे ११ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । 

यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी १२९ उद्योगका लागि ११ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत चैत महिनाको तुलनामा १५.१८ प्रतिशतले कम हो । जबकी बैशाखमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ६१ उद्योगका लागि १३ अर्ब ८५ करोड ६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

यस अवधिमा विदेशी लगानीका अटोमेटिक रुटबाट ६८ उद्योगका लागि ८ अर्ब २७ करोड ९० लाख, नयाँ उद्योगका लागि ३ अर्ब एक करोड ५६ लाख र एसपीए÷एसएसएका ९ उद्योगका लागि ४६ करोड १० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

२० हजार बढीलाई रोजगारी 

चालु आवको जेठ मसान्तसम्म दर्ता भएका उद्योगमा २० हजार १४६ जनाले रोजगारी पाउने भएका छन् भने जेठमा महिनामा दर्ता भएका उद्योगमा दुई हजार ३२३ जनालाई रोजगारी प्रस्ताव गरिएको हो । 

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ३४१ वटा, मझौला उद्योग १४ वटा र ठूला उद्योग चार वटा रहेका छन् । जेठ मात्रै विदेशी लगानीका साना उद्योग ५१ वटा दर्ता भएका छन् ।

विभाग अनुसार जेठ मसान्तसम्म सूचना प्रविधि क्षेत्रका दश वटा, निर्माण क्षेत्रका ४० वटा, सेवामुलक क्षेत्रका ११४ वटा, खनिज क्षेत्रका तीन, पर्यटन क्षेत्रका १७६ उद्योग दर्ता भएका छन् ।

त्यस्तै यस अवधिमा कृषि क्षेत्रका आठ र पूर्वाधार क्षेत्रका ७ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा जलविद्युत क्षेत्रमा भने सबैभन्दा कम एक उद्योगका लागि लगानी आएको छ ।

साढे तीन अर्बले घट्याे रोयल्टी 

विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लाने लाभांश पनि घटेको छ । 

यस अवधिमा विदेशी लगानीकर्ताले नाफा वापत ९ अर्ब ९७ करोड २८ लाख ९५ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । जेठ मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा उक्त रकम तीन अर्ब ८५ करोड २६ लाख रुपैयाँ अर्थात २७.८६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा विदेशी लगनाीकर्ताहरुले लाभांश वापत १३ अर्ब ८२ करोड ५५ लाख ३० हजार रुपैयाँ लगेका थिए।

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत दुई अर्ब ५४ करोड ३४ लाख ५९ हजार रुपैयाँ, एक करोड ८ लाख ७९ हजार अमेरिकी डलर र ७३ करोड ७ लाख ९१ हजार रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ । 

थप समाचार