Below Menu
Below Menu

सहकारीसम्बन्धी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिनेछः प्रधानमन्त्री 

सहकारीसम्बन्धी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिनेछः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने बताएका छन् । प्रधानमन्त्री दाहालले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी सङ्घसंस्थाको समस्या समाधान गरिने स्पष्ट पारे ।

“समितिको सिफारिसको आधारमा त्यस्ता संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरी सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानी (बचत फिर्तासमेत( को कार्य अघि बढाइनेछ”, प्रधानमन्त्री दाहालले भने, “त्यसका लागि प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारमा पर्ने सहकारी संस्थाहरूको सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र सम्बन्धित स्थानीय तहबाट विवरण लिइन्छ ।”

संविधानले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिको एउटा महत्त्वपूर्ण खम्बा सहकारी भएको उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले सहकारिताको भावनाबाट जीवनस्तर उकास्ने र आर्थिक अवस्थालाई बलियो बनाउने सवालमा सहकारी नमूना अभ्यास भएको बताउनुभयो । नेपालको अर्थतन्त्रको विकासमा सहकारीको योगदान रहेको बताउँदै उनले सहकारीका आधारभूत मूल्य र मान्यताअनुसार स्वनियमनमा आधारित रहेर सहकारी सदस्यको हित प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । 

“सबै सहकारी समस्यामा छन् भन्ने होइन । कानुनको अधिनमा रही सहकारीका स्थापित अन्तर्राष्ट्रिय मूल्य मान्यताभित्र रहेर सहकारी आन्दोलनमार्फत आर्थिक विकास र जीवनस्तर उकास्न धेरै सहकारी संस्थाले मद्दत गरेका छन्”, प्रधानमन्त्री दाहालले भने, “आगामी दिनमा पनि यस्तै सकारात्मक योगदानको अपेक्षासमेत गर्दछु ।” उनले सहकारीको सङ्ख्यात्मक वृद्धि भए पनि गुणात्मक विकासमा भने केही कमीकमजोरी भएको उल्लेख गर्दै त्यसतर्फ सरकार गम्भीर रहेको बताए । 

Advertisment

थप समाचार