काठमाडौं : कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान गरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखाएको हो ।
उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.७९ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको आर्थिक वृद्धि ३.५१ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि २.१३ प्रतिशत रहने संसोधित अनुमान रहेको छ ।
कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३३.२ प्रतिशत, उद्योग क्षेत्रको १५.९ प्रतिशत र सेवा क्षेत्रको ५०.९ प्रतिशत योगदान रहने अनुमान रहेको छ ।
कृषि तर्फ आव २०७९÷८० को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कोदो, आलु, सुर्ती, तरकारी, लसुन लगायतले ढाकेको क्षेत्रफल घटेकोले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ ।
त्यस्तै समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८८.६ प्रतिशत, तरकारी बालीले ढाकेको क्षेत्रफल ४.५ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ६.९ प्रतिशत रहेको छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७३.८ प्रतिशत रहेको छ ।
आव २०७९/८० को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा समग्र कृषि बालीको उत्पादन ०.०३ प्रतिशतले बढेको छ । सो अवधिमा खाद्य, नगदे तथा अन्य बालीको उत्पादन २.६ प्रतिशत, फलफुलको उत्पादन १.२ प्रतिशत तथा कफीको उत्पादन ०.३ प्रतिशतले बढेको छ भने तरकारीको उत्पादन १४ प्रतिशतले र चियाको उत्पादन ०.१ प्रतिशतले घटेको छ ।
यस अवधिसम्म यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ४०.५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३९.७ प्रतिशत रहेको थियो भने समीक्षा अवधिमा कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल ०.४ प्रतिशतले बढेको छ ।
प्रदेशमा छाला उत्पादन १४ प्रतिशत, खसी/बोका/भेडा ११.१ प्रतिशतले, माछापालन ३.७ प्रतिशतलेबढेको छ भने भैसी÷राँगोउत्पादन ५.३ प्रतिशतले तथा हाँस उत्पादन २.५ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा काठको उत्पादन, औषधिजन्य उत्पादन क्रमश २३.७ र ६०.९ प्रतिशतले बढेको छ भने अन्य उत्पादन २५.३ प्रतिशतले घटेको छ ।
गत असार मसान्तको तुलनामा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ६.१ प्रतिशतले कमी भई रु.५७ अर्ब ४३ करोड ४८ लाख पुगेको छ । पुस मसान्तसम्म प्रदेशमा प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.८ प्रतिशत रहेको छ ।
उद्योगतर्फ चालु आवको ६ महिनाको अवधिमा यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४०.९ प्रतिशत रहेको थियो ।
उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा चप्पल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ७८.८ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.९ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा चप्पलको उत्पादन सबैभन्दा बढी ४९ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढी २२.७ प्रतिशतले घटेको छ । यस अध्ययनमा समेटिएका ठुला ४३ उद्योगहरुमा गत आवको पुस मसान्तसम्म कुल १७ हजार ५५८ जना श्रमिक कार्यरत रहेकोमा चालु आवको यस अवधिमा ०.९ प्रतिशत नयाँ श्रमिकले रोजगारी पाएर जम्मा १७ हजार ७२० जना कार्यरत रहेका छन् ।
समीक्षा अवधिमा प्रदेशको कुल औद्योगिक रोजगारीमध्ये ९२.४ प्रतिशत स्वदेशी र ७.६ प्रतिशत विदेशी कामदारहरुले रोजगारी प्राप्त गरेका छन् । गत असार मसान्तको तुलनामा पुस मसान्तमा कुल औद्योगिक कर्जा ०.५ प्रतिशतले बढेर रु.१ खर्ब २९ अर्व ८३ करोड पुगेको छ ।
सेवा क्षेत्रतर्फ पुस मसान्तसम्म यस प्रदेशमा वाणिज्य बैंकका ७५९, विकास बैंकका १९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८७० गरी जम्मा १ हजार ८६० शाखा पुगेका छन् ।
असार मसान्तको तुलनामा पुस मसान्तमा प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ४.१ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३८ अर्ब पुगेको तथा कूल कर्जा प्रवाहमा ४.६ प्रतिशतले कमी आई रु.५ खर्ब ३१ अर्ब कायम भएको छ ।
गत असार मसान्तमा प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३२.३० प्रतिशत रहेकोमा पुस मसान्तमा यस्तो अनुपात १२१.२० प्रतिशत रहेको छ । २०७९ पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा नमुना छनौटमा परेका सहकारी संस्थाको कुल पुँजी ५.६ प्रतिशत, कुल बचत १५.८ प्रतिशत बढेको छ भने ऋण २.८ प्रतिशतलेघटेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा प्रदेशका नमुना छनौटमा परेका होटलहरुको औसत अकुपेन्सी दर ४४.१ प्रतिशत रहेको छ यस्तो दर अघिल्लो वर्षकोसोही अवधिमा ३९.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा यस प्रदेशका नमुना छनौटमा परेका होटलहरुमा बाह्य पर्यटकको संख्या १.१ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १५.३ प्रतिशतले बढेको थियो ।
गत आवको सोही अवधिबो तुलनामा यस अवधिमा प्रदेशमा समग्र जहाज उडान संख्या ७.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या ५६.७ प्रतिशतले बढेको थियो ।
गत वर्षको तुलनामा यस अवधिमा प्रदेशमा दर्ता भएका कुल सवारी साधनको संख्या २.१ प्रतिशतले वृद्धि भई ७ लाख ८० हजार ७ सय २१ पुगेको छ ।
पूर्वाधार तर्फ विभिन्न जिल्लाहरुमा निर्माण सम्पन्न ४३ वटा जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन क्षमता ४७८.२५ मेगावाट रहेको छ । यी आयोजनाहरु मध्ये सोलुखुम्बु जिल्लामा निर्माण सम्पन्न भएका आयोजनाहरुको उत्पादन क्षमता सबैभन्दा बढी १९०.४ मेगावाट रहेको छ ।
झापामा झापा इनर्जी प्रालिले उत्पादन गरेको १० मेगावाट सौर्य उर्जा नेपाल विद्युत प्राधिकरणको बोलो चोक सवस्टेशनमा जडान गरिएको छ । कोशी (उत्तर दक्षिण) लोकमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गतको ४९ कि.मी. ६ लेन सडक तथा विराटचोक–घिनाघाट ४ लेन सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।