Below Menu
Below Menu

कोशी प्रदेशः अर्थतन्त्रमा प्रभाव पार्ने ठुला आयोजना, हाइड्रोदेखि राजमार्गसम्म 

कोशी प्रदेशः अर्थतन्त्रमा प्रभाव पार्ने ठुला आयोजना, हाइड्रोदेखि राजमार्गसम्म 

काठमाडौं : कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा निर्माण सम्पन्न ४३ वटा जलविद्युत आयोजनाहरुको उत्पादन क्षमता ४७८.२५ मेगावाट रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार मोरङमा ग्रिड कनेक्टेड सोलार आयोजनाबाट ६.८ मेगावाट र झापामा झापा इनर्जी लिमिटेडबाट १० मेगावाट विद्युत उत्पादन भइरहेको छ । कोशी प्रदेशमा सञ्चालित आयोजनाहरुको कुल उत्पादन क्षमता ४९५.०५ मेगावाट रहेको छ । 

प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरुको सबैभन्दा बढी १९०.४ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ ।

यस प्रदेशका जिल्लाहरुमध्ये इलाममा १६ वटा, संखुवासभामा ७ वटा, सोलुखुम्बुमा ६ वटा, पाँचथरमा ५ वटा, खोटाङमा ३ वटा , ताप्लेजुङ र भोजपुरमा २/२ वटा र तेह्रथुम र ओखलढुङ्गामा १/१ वटा जलविद्युत आयोजना रहेका छन् भने झापा र मोरङमा १÷१ वटा सोलार विद्युत आयोजना रहेका छन् । 

अर्थतन्त्रमा प्रभाव पार्ने प्रदेशका ठुला आयोजना 

अरुण तेस्रो जलविद्युत आयोजना अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत अरुण तेस्रो जलविद्युत आयोजना र अरुण तेस्रो जलविद्युत आयोजना प्रसारणलाइन निर्माण गरी दुई वटा आयोजना रहेका छन् । दुईवटा आयोजनाको कुल अनुमानित लागत रु. १ खर्ब ४५ अर्ब रहेको छ । 

अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य २०७५ वैशाखबाट प्रारम्भ भई २०८१ माघसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । कुल विद्युत उत्पादन क्षमता ९०० मे.वा. रहेको यस आयोजनाको पुस मसान्तसम्मको भौतिक र वित्तीय प्रगति क्रमशः ७३.२० प्रतिशत र ७४.५८ प्रतिशत रहेको छ । 

यस आयोजनामा स्वदेशी १८७३ र विदेशी १७५३ गरी गरी कुल ३६२६ कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। अरुण तेस्रो जलविद्युत आयोजना ४०० के.भी. प्रसारण लाइन निर्माणको कार्य २०७६ माघबाट प्रारम्भ भई २०८१ माघमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा, महोत्तरी जिल्ला अन्तर्गत पर्ने यस आयोजनाको वि.सं.२०८० पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः १६.८ प्रतिशत र ५२.२४ प्रतिशत रहेको छ । उक्त आयोजनाबाट स्वदेशी १३९ र विदेशी १७२ गरी कुल ३११ जना कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

कोशी कोरिडोर २२० के.भी. प्रसारण लाइन तथा सवस्टेसन निर्माण कोशी कोरिडोर २२० के.भी. प्रसारण लाइन तथा सवस्टेसन निर्माण अन्तर्गत ईनरुवा—वसन्तपुर—बानेश्वर—तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजना, तुम्लिङटार–बानेश्वर–वसन्तपुर–इनरुवा २२० के.भी. सवस्टेसन र वसन्तपुर– ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी. प्रसारण लाइन र सव–स्टेशन, वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी. प्रसारण लाइनको दोस्रो सर्किट र वसन्तपुर सव—स्टेशनमा बे एक्सटेन्सन गरी ४ वटा आयोजनाहरु रहेका छन् । 

ईनरुवा—वसन्तपुर—बानेश्वर—तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजनाको निर्माण कार्य सन् २०१६ जुनबाट प्रारम्भ भई २०२२ सेप्टेम्बरबाट सञ्चालनमा आइसकेको छ ।

तुम्लिङटार—बानेश्वर—वसन्तपुर—इनरुवा गरी ३ वटा सव स्टेशन र १ बे थप्ने कार्य (स्टेप अप डाउन क्षमता ५५० एमभीए को निर्माण कार्य सन् २०१८ अक्टोवरबाट प्रारम्भ भएको हो जसको कुल अनुमानित लागत २ करोड ६० लाख अमेरिकी डलर रहेको छ ।

यस आयोजनाको पुस मसान्तसम्मको भौतिक कार्य सम्पन्न भइसकेको छ भने वित्तीय प्रगति ९२.० प्रतिशत रहेको छ । कोशी कोरिडोर अन्तर्गत ३५ कि.मि. लम्बाइ रहेको वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी.प्रसारण लाइन र सव– स्टेसनको निर्माण कार्य सन् २०१८ जुनबाट प्रारम्भ भएको हो । 

कुल अनुमानित लागत २ करोड १० लाख अमेरिकी डलर रहेको यस आयोजना सन् २०२४ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ९९.० प्रतिशत र ९१.० प्रतिशत रहेको छ । 

वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी.प्रसारण लाइनको दोस्रो सर्किट र बसन्तपुर सव–स्टेसनमा बे एक्सटेन्सन को निर्माण कार्य २०२२ नोभेम्बरबाट प्रारम्भ भएको हो ।

कुल अनुमानित लागत नेपाली रुपँया ६६.६ करोड रहेको यस आयोजना सन् २०२४ अप्रिल सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोमा वि.सं.२०८० पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ४५.० प्रतिशत र ५२.० प्रतिशत रहेको छ । यस आयोजनामा हाल ५० जनालेप्रत्यक्ष रोजगारी पाइरहेका छन्।

कुशाहा—विराटनगर कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजना यस आयोजनाको निर्माण कार्य आ.व.२०७४ बाट प्रारम्भ भई आव २०८१/८२ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको अनुमानित कुल लागत रु.१ अर्ब ९२ करोड रहेको छ ।

आयोजनाको पुस मसान्तसम्मको भौतिक प्रगति ५८.९ प्रतिशत तथा वित्तीय प्रगति ६१.८ प्रतिशत रहेको छ । २३ कि.मि.लम्बाइ भएको १३२ के.भी प्रसारण लाईनको यस आयोजनामा हाल १६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । 

पुष्पलाल मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको कोशी प्रदेश अन्तर्गत कुल लम्बाइ ४९३.७ कि.मि. रहेको छ । यो आयोजना दुई खण्डमा विभाजन गरेर निर्माण कार्य भइरहेको छ । यस लोकमार्गको पहिलो खण्ड पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर जिल्लामा पर्दछ । 

आव २०७५/७६ बाट निर्माण कार्य प्रारम्भ भएको यस खण्डको कुल लम्वाई ३८१.७ किलोमिटर तथा कुल अनुमानित लागत १० अर्ब रहेको छ । यस खण्डको चालु आवको पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ७१ प्रतिशत तथा ७०.३ प्रतिशत रहेको छ ।

त्यसैगरी, यस लोकमार्गको दोस्रो खण्ड खोटाङ, ओखलढुङ्गा र उदयपुर जिल्लामा पर्दछ । आव २०७१/७२ बाट निर्माण कार्य प्रारम्भ भएको यस खण्डको कुल लम्वाई ११२ किलोमिटर रहेको छ । कुल अनुमानित लागत रु.६६ करोड रहेको यस खण्डको आव २०८०/८१ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्मको सडकतर्फको भौतिक तथा वित्तीय प्रगति ६५ प्रतिशत रहेको छ । यस आयोजनामा हाल ७०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

हुलाकी राजमार्ग

प्रदेशको झापा, मोरङ र सुनसरी तथा मधेश प्रदेशको सप्तरी जिल्ला अन्तर्गत रहेको हुलाकी राजमार्गको कुल लम्बाइ ३३५ किलोमिटर रहेको छ । यस खण्ड अन्तर्गत २६ वटा पुलहरु रहेका छन् । 

१६ अर्ब १० करोड अनुमानित लागत रहेको यस खण्डको आव २०६६/६७ बाट निर्माण कार्य प्रारम्भ भएकोमा पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ७१.० प्रतिशत तथा ७०.० प्रतिशत रहेको छ । यस आयोजनामा ५०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । 

मदन भण्डारी राजमार्ग (भित्रि तराई लोकमार्ग) 

मदन भण्डारी राजमार्गको दुई खण्डमा निर्माण कार्य भइरहेको छ । यस राजमार्गको पहिलो खण्ड सुनसरी, मोरङ, झापा र इलाम जिल्लामा पर्दछ । आ.व.२०७६÷७७ बाट निर्माण कार्य प्रारम्भ भएको यस खण्डको कुल लम्बाई १३० कि.मि. र अनुमानित लागत रु.८ अर्ब १९ करोड रहेको छ । 

आव २०८१/८२ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोआयोजनाको वि.सं.२०८० पुस मसान्तसम्मको भौतिक प्रगति सडक तर्फ ५२ प्रतिशत तथा पुल तर्फ ९० प्रतिशत रहेको छ भनेवित्तीय प्रगति सडक तर्फ ३८ प्रतिशत र पुल तर्फ ८५ प्रतिशत रहेको छ । यस खण्डमा जम्मा ९६० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

त्यस्तै, लोकमार्गको दोस्रो खण्ड कोशी प्रदेशको उदयपुर र बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्दछ । कुल लम्बाई १३५ कि.मि. रहेको लोकमार्गको यस खण्डको अनुमानित लागत रु.१३ अर्ब १२ करोड रहेको छ ।

आव २०७४ बाट निर्माण कार्य प्रारम्भ भई आव २०८०/८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस खण्डको पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ९९.० प्रतिशत र ९८.५ प्रतिशत रहेको छ ।

यस आयोजनामा १८० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। ठ। कोशी (उत्तर दक्षिण) लोकमार्ग दक्षिणमा भारतको सीमाना जोगवनीदेखि वसन्तपुर, खाँदबारी हुँदै नेपालको उत्तरी सीमाना किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको यस लोकमार्गको कुल लम्बाई ३०९ कि.मि रहेको छ ।

यस लोकमार्ग अन्तर्गतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना निर्माण कार्यको प्रारम्भ आव २०६९/७० बाट भएको हो । कुल लम्बाइ ४९ कि.मि रहने यस ६ लेन सडक आयोजनाको कुल अनुमानित लागत रु.१० अर्ब ९८ करोड रहेको छ ।

आव २०८१/८२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा यस आयोजनाको पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ८९.० प्रतिशत र ८२ प्रतिशत रहेको छ । यस आयोजनामा ३० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । 

यस लोकमार्गको संखुवासभा जिल्लाको खाँदबारीदेखि उत्तरी सीमा किमाथांकासम्मको कोशी कोरिडोर सडक आयोजनाको कुल लम्बाइ १६२ कि.मि. रहेको छ ।

आव २०६५/६६ बाट निर्माण कार्य प्रारम्भ भएको यस आयोजनाको कुल अनुमानित लागत रु. ११ अर्ब ९३ करोड रहेको छ । आ.व.२०८३/८४ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ४४.० प्रतिशत र ४२.७ प्रतिशत रहेको छ । यस आयोजनामा ११ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। 

प्रदेश गौरवको आयोजना: विराटचोक–घिनाघाट सडक आयोजना

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाको निर्माण कार्य आव२०७५/७६ बाट प्रारम्भ भएको हो । कुल लम्बाई २२ कि.मि. रहने यस ४ लेन सडक आयोजनाको कुल अनुमानित लागत रु.२ अर्ब ५ करोड रहेको छ ।

यस आयोजनाको १ कि.मी देखि १० कि.मी सम्म, ११ कि.मी देखी २० कि.मी सम्म तथा २१ कि.मी देखि २२ कि.मी सम्म गरी तीन प्याकेज अन्तर्गत निर्माण कार्य भईरहेकोमा दोस्रो प्याकेज अन्तर्गत निर्माण सम्पन्न भई हस्तान्तरण भईसकेको छ भने पहिलो र तेस्रो प्याकेज अन्तर्गतको कार्य निर्माणाधिन अवस्थामा छन् ।

आव २०८०/८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको पुस मसान्तसम्मको पहिलो प्याकेज अन्तर्गत भौतिक तथा वित्तीय प्रगति क्रमशः ८७.५ प्रतिशत र ८४.७ प्रतिशत तथा तेस्रो प्याकेज अन्तर्गत भौतिक तथा वित्तीय प्रगति क्रमशः ८९.० प्रतिशत र ८५.६ प्रतिशत रहेको छ । यस आयोजनाको पहिलो र तेस्रो प्याकेज अन्तर्गत ७४ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
 

Advertisment

थप समाचार