घोराही उपमहानगरपालिकाको बजेट दुई अर्ब ४२ करोड 

घोराही उपमहानगरपालिकाको बजेट दुई अर्ब ४२ करोड 

देउखुरी : घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि रु दुई अर्ब ४२ करोड ७७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ । 

नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले आइतबार पन्ध्रौँ नगरसभामा आगामी बजेट सार्वजनिक गरेकी हुन् ।  घोराहीले चालु आवभन्दा रु २६ करोड ९४ लाख १८ हजार बढीको बजेट ल्याएको छ । चालु आवका लागि उपमहानगरले रु दुई  अर्ब १५ करोड ८३ लाख बजेट विनियोजन गरेको थियो ।

कूल विनियोजित रकममध्ये सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु ८२ करोड ९७ लाख ५८ हजारमध्ये रु ११ करोड ६३ लाख २० हजार अर्थात १४ दशमलव ०२ प्रतिशत पुँजीगत खर्च र रु ७१ करोड ३४ लाख ३८ हजार अर्थात ८५ दशमलव ९८ प्रतिशत चालु खर्च रहेको छ । 

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु तीन करोड ६४ लाख ६२ हजारमध्ये रु तीन करोड ६० लाख अर्थात ९८ दशमलव ७३ प्रतिशत पुँजीगत खर्च र रु चार लाख ६२ हजार अर्थात एक दशमलव २७ प्रतिशत चालु खर्च रहेको छ । सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दातबाट विनियोजन गरिएको बजेट रु एक अर्ब ५६ करोड १४ लाख ९८ हजार मध्ये ५५ करोड ७१ लाख १२ हजार अर्थात ३५ दशमलव ६८ प्रतिशत चालु खर्च र रुएक अर्ब ४३ लाख ८६ हजार अर्थात ६४ दशमलव ३२ प्रतिशत पुँजीगत खर्च रहेको बजेट वक्तव्यमा उल्लेख छ । 

कूल बजेटमध्ये रु एक अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२ दशमलव ३५ प्रतिशत चालु खर्च र एक अर्ब १५ करोड ६७ लाख छ हजार अर्थात ४७ दशमलव ६५ प्रतिशत पूजिगत खर्च रहेको छ । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रु ५५ करोड ८८ हजार, संघीय वित्तीय समानीकरण अनुदानबाट रु ३० करोड ३१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २६ करोड ७० लाख २६ हजार छ सय एक, सङ्घीय रोयल्टी बाँडफाँटबाट रु नौ लाख ७३ हजार तीन सय ९९ सङ्घीय सशर्त अनुदानबाट रु ८२ करोड २२ लाख ५८ हजार, र सङ्घीय विशेष अनुदानबाट ७५ लाख व्यहोरिने जनाइएको छ । 

प्रदेश समानीकरण अनुदानबाट रु दुई करोड २० लाख ४७ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु दुई  करोड ८२ लाख ६३ हजार, प्रदेश सशर्त अनुदानबाट रु दुई करोड २४ लाख ६२ हजार र प्रदेश समपूरक अनुदानबाट रु एक करोड ४० लाख व्यहोरिने गरी उपमहानगरले बजेट विनियोजन गरेको हो । 

असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको उपमहानगरले आज बजेट ल्याएको हो । बजेटमाथिको छलफलका लागि यही असार ११ गते बिहान ७ बजे नगरसभाको बैठक बोलाइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । 

थप समाचार