काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उक्त रकमको बजेट पेश गरेकी हुन् ।
यसका साथै महानगरले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको छ । यसैगरी महानगरले आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि सारेको छ ।
उक्त योजनाका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।
उपमेयर ड्ंगोलले प्रस्तुत गरकेो बजेटमा महानगरको संचित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी १ अर्ब ५० करोड रहेको छ । स्थानीय संचित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास कार्यक्रमका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ ।
त्यस्तै कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन् ।
त्यसैगरी पुर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार, सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।