काठमाडौं : संसदीय व्यवस्था अनुसार ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट पेश गरेका छन् । आर्थिक कार्यविधि तथा विनियोजन विधेयक अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आर्थिक वर्षको बजेट अनिवार्य ल्याउनुपर्ने प्रावधान छ ।
सोही अनुसार सोमबार ६ वटै महानगरपालिका आगामी आर्थिक वर्षका लागि कुल ५३ अर्ब ६३ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएका छन् । चालु आवका लागि ५२ अर्ब १ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएका महानगरले आगामी वर्षका लागि बजेटको आकार ३.१२ प्रतिशतले बढाएका छन् ।
आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकासहित ५ वटा महानगरपालिकाले बजेटको आकार केही बढाएका छन् भने वीरगन्ज महानगरपालिकाले घटाएको छ ।
ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि १४.८८ प्रतिशतले बढी बजेट ल्याएको हो ।
– महानगरले संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा र नगरवासीको जीवनरक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता राखेको छ ।
–त्यस्तै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, पर्यटन क्षेत्रको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, रोजगार प्रवद्र्धन र गरिबी न्यूनीकरणलगायतलाई समेत प्राथमिकतामा राखिएको छ ।
पोखरा महानगरपालिकाको बजेट सात अर्ब ५१ करोडको बजेट
पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१/८२ का लागि सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । चालु आर्थिक वर्षका लागि ६ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
–बजेटअन्तर्गत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा–प्रतिष्ठानसम्बन्धी कार्यक्रम सञ्चालन गर्न एक अर्ब ६५ करोड, स्वास्थ्यमा रु ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि ५६ करोड, सामाजिक विकासअन्तर्गत लक्षित वर्गतर्फ छ करोड र संस्थागत विकासका लागि रु दुुई करोड विनियोजन गरेको छ ।
–बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृङ्खला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यूनकार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै सरलीकृत र प्रविधिमैत्री सेवाप्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवप्रर्वतन प्रवद्र्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राखिएको छ ।
–पूर्वाधारतर्फ मुस्ताङचोक–सहीदचोक खण्ड, चिप्लेढुङ्गा–सभागृह खण्ड र जिरो–विन्ध्यवासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि तीन करोड, फेवा फेरो पदमार्ग निर्माणमा रु ५० लाख र ड्यामसाइट पञ्चासे पर्यटकीय मार्ग विकासका लागि ९० लाख छुट्याइएको छ ।
–एशियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार आयोजनाका लागि २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रम सञ्चालन गर्न एक करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनका आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवाबीच निर्माणको काम सुरुआत गर्न दुुई करोड बजेट विनियोजन गरिएको छ ।
–पूर्वाधार विकासमा बिपीमार्ग सडक स्तरोन्नतिका लागि आठ करोड र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि एक अर्ब ६५ करोड विनियोजन गरिएको छ ।
–शिक्षातर्फ महिला शिक्षकहरुको प्रसूति बिदामा दैनिक शिक्षण सिकाइ प्रभावित हुन नदिन सट्टा शिक्षक व्यवस्थापन गर्न २५ लाख बजेट व्यवस्था गरिएको छ ।
–सामाजिक विकासतर्फ उपप्रमुखसँग महिला कार्यक्रममार्फत विपन्न, एकल एवं लक्षित वर्गका महिलाको उद्ययमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप रु एक करोड विनियोजन गरिएको छ ।
काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
–महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ६१ दशमलब २० प्रतिशत हो ।
–कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि रु तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट प्रस्ताव गरिएको छ ।
–सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि १९ करोड नौ लाख प्रस्ताव गरिएको छ ।
–महानगर गौरव र स्वर्णिम योजनाका लागि रु पाँच अर्ब ८० करोड बजेट गरिएको छ । विगतका कार्यक्रमलाई निरन्तरता तथा थप एक गरी ११ वटा गौरवको आयोजनाका लागि तीन अर्ब ८० कारेड बजेट विनियोजन गरिएको छ ।
–महानगरले कपडा बैङ्क, पोखरी मर्मत तथा सम्भार, फोहरबाट मल र महानगर होमस्टेलाई थप गरी ३० वटा स्वर्णिम योजनाका लागि दुई अर्बको बजेट प्रस्ताव गरिएको छ ।
विराटनगर महानगरको बजेट साढे तीन अर्ब ४९ करोड
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
–महानगरले वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाका भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई–मधेस समृद्धि कायक्रमतर्फ पाँच करोड ६० लाख, सडक, ढल, नाला तथा अन्य मर्मतसम्भारतर्फका लागि चार करोड ५० लाख, मर्मतसम्भारका लागि १० करोड तथा भारी सवारीसाधन खरिदका लागि दुई करोड बजेट विनियोजन गरिएको छ ।
–यस्तै शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख एक हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ रु २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रमतर्फ रु ९९ लाख ५७ हजार, सङ्घसंस्थातर्फ रु दुई करोड ७० लाख, लक्षित वर्ग कार्यक्रम (आदिवासी जनजाति, दलित, मधेसी तथा यौनिक तथा अल्पसङ्ख्यक)तर्फ रु ६२ लाख ८६ हजार विनियोजन गरिएको ।
– महानगरले बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रमतर्फ रु ९५ लाख ८४ हजार, खेलकुद विकासका लागि रु एक करोड आठ लाख, रोजगार प्रवद्र्धनका लागि रु ७० लाख ४६ हजार, ज्येष्ठ नागरिकतर्फ रु नौ लाख ९५ हजार छुट्याइएको छ ।
– अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ रु २८ लाख आठ हजार, आर्थिक विकास क्षेत्रअन्तर्गत कृषि विकासतर्फ रु एक करोड तीन लाख, पशुपक्षी तथा भेटनरीतर्फ रु एक करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ रु २४ लाख, उद्यमशील विकासतर्फ रु ५० लाख, उपभोक्ताहित संरक्षणका लागि रु आठ लाख ५० हजार, पर्यटन प्रवद्र्धनका लागि रु एक करोड ९४ लाख विनियोजन गरिएको छ ।
–वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रअन्तर्गत विपद् व्यवस्थापनतर्फ एक करोड २० लाख वन वातावरण तथा जैविक विविधतातर्फ ३५ लाख ५० हजार तथा सरसफाइका लागि एक करोड ३० लाख विनियोजन गरिएको छ ।
–सुशासन तथा संस्थागत विकास क्षेत्रअन्तर्गत राजस्व सुदृढीकरणतर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि ४० लाख, सहरी विकासतर्फ ९० लाख, सूचना तथा सञ्चारका लागि ६० लाख सूचना तथा प्रविधिका लागि रु ८० लाख विनियोजन भएको छ ।
–सुशासन तथा सेवा प्रवाहका लागि एक करोड आठ लाख ४५ हजार, कानुन तथा न्यायतर्फ रु ७२ लाख ५० हजार, फोहरपानी प्रशोधन केन्द्रतर्फ रु दुई करोड ९५ लाख भू–उपयोग आवास तथा बस्तीविकास कार्यक्रमतर्फ रु ८५ लाख ४९ हजार विनियोजन गरिएको छ ।
–विद्युतीकरणका लागि दुई करोड नौ लाख नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ३५ करोड गरी कूल तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार विनियोजन गरिएको छ ।
भरतपुर महानगरको बजेट छ अर्ब ५५ करोड
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१८२ का लागि रु छ अर्ब ५५ करोड ८५ लाख ९८ हजार बजेट पेस गरेको छ । आगामी आवको बजेट चालु आवकोभन्दा रु २४ करोड छ लाख आठ हजार बढी हो । कूल बजेटमा एक अर्ब ८० करोड आन्तरिक आय हुने अनुमान छ ।
–सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा एक अर्ब ३० करोड
–चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजना समयमै सम्पन्न गर्नको लागि एक अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ ।
–महानगरले वडास्तरीय कार्यक्रम कार्यान्वयनका लागि न्यूनतम दुई करोड ७४ लाख २८ हजार र अधिकतम दुई करोड ९० लाख दुई हजार गरी जम्मा वडास्तरीय आयोजनामा रु ८२ करोड बजेट विनियोजन गरेको छ ।
–महानगरपालिकाका ठूला तथा रणनीतिक महत्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवं सङ्घीय र बागमती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदानअन्तर्गत योजनाको कार्यान्वयनका लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन १२ करोड बजेट विनियोजन गरिएको छ ।
महानगरभित्र सार्वजनिक शौचालय निर्माण, हरियालीसहितको नमुना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, एक वडा एक खुला व्यायमशालालगायतका सहरी सौन्दर्य र भू–उपयोग तथा बस्ती विकाससम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि रु १४ करोड विनियोजन गरिएको छ ।
–दियालो बङ्गलामा पार्कसहित पर्यटकीय पूर्वाधार निर्माण गरी सङ्ग्रहालयका रूपमा सञ्चालनका लागि एक करोड बजेट विनियोजन गरिएको छ ।
–वैदेशिक रोजगारबाट फर्केकालाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि व्यावसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशुबीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालनलगायत कृषिसम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि छ करोड विनियोजन गरिएको छ ।
वीरगञ्ज महानगरले ल्यायो दुई अर्ब ८९ करोडको बजेट
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि रु दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरले चालु आवको भन्दा ६२ करोड कम आकारको बजेट ल्याएको हो ।
आगामी आवको बजेटको प्राथमिकतामा शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातारण संरक्षणलाई राखिएको छ । साथै बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्रथामिकतामा राखिएको छ ।
महानगरले बजेटमा स्थानीय प्रशासन तथा प्रहरीसँगको समन्वयमा नगरका विभिन्न स्थामा सिसिटिभी क्यामरा जडान गर्ने योजना राखेको छ । साथै ऐतिहासिक लालबङ्गला क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण कार्यको प्रक्रिया अघि बढाइने पनि बजेट वक्तव्यमा उल्लेख छ । महानगरले नक्सापास गर्दा अनिवार्य दुईवटा बिरुवा रोप्ने नीति लागू गर्ने भएको छ ।
रासायनिक मलप्रतिको आकर्षण एवं निर्भरता पनि कम गर्दै लैजाने र सार्वजनिक पोखरी र सिर्सिया नदीको प्रदूषण न्यूनीकरणलाई पनि बजेटमा समावेश गरेको छ । नगरभित्रका सार्वजनिक जग्गा संरक्षणलाई पनि निरन्तरता दिएको छ ।
महानगरभित्र स्थापित उद्योगहरुले आफ्नो श्रमशक्तिको कम्तीमा २५ प्रतिशत रोजगारी महानगरवासीलाई दिएमा त्यस्ता उद्योगको व्यवसाय कर र सम्पत्ति करमा समेत छुट दिने नीति अङ्गीकार गरिएको छ । सङ्घीय सरकारको सहयोगमा महागरमा औद्योगिक ग्राम स्थापना गर्ने कार्यलाई अघि बढानेछ बजेटमा उल्लेख छ ।
महानगरभित्रका मठमन्दिर, विहार र मस्जिदलगायतको संरक्षण र प्रवद्र्धन गर्ने योजना पनि बजेटमा समावेश छ । महानगरले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रीकृत रुपबाट उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिएको छ । लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्ने, औषधि छर्किेने अभियानलाई पनि बजेटमा समावेश गरिएको छ ।