काठमाडौं : मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ३५ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत वर्षको तुलानमा ३.८९ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ६.८० प्रतिशतले वृद्धि भई ४ खर्ब ५२ अर्ब ९ करोड पुगेको थियो ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १९.४२ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब ३० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.८४ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ६१ अर्ब ५० करोड पुगेको थियो ।
समीक्षा अवधिमा प्रदेशमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट सेवा क्षेत्रतर्फ भएको कुल कर्जामध्ये सबैभन्दा बढी पर्सामा ५३ अर्ब २८ करोड अर्थात् कुल कर्जाको ३४.७५ प्रतिशत र सबैभन्दा कम सप्तरीमा ७ अर्ब ९१ करोड अर्थात् कुल कर्जाको ५.१६ प्रतिशत रहेको छ ।
मधेश प्रदेशको समष्टिगत आर्थिक स्थिति
उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ५३ खर्ब ४८ अर्ब रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा रु.७ खर्ब ३ अर्ब रहने अनुमान छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा १.९५ प्रतिशत र मधेश प्रदेशको आर्थिक वृद्धिदर १.५० प्रतिशत रहने संशोधित अनुमान छ ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको (३५ प्रतिशत) रहेकोमा सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको (०.१५ प्रतिशत) रहेको छ ।
कृषि
समीक्षा अवधिमा प्रदेशमा खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा ८.०१ प्रतिशत, तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा १०.३२ प्रतिशतले र फलफूल तथा मसलाले ओगटेको क्षेत्रफलमा २.४३ प्रतिशतले वृद्धि भएको छ ।
खाद्य तथा अन्य बालीको उत्पादनमा ७.४९ प्रतिशत र तरकारी तथा बागवानी उत्पादनमा १.५७ प्रतिशतलेकमी भएको छ भने फलफूल तथा मसला उत्पादनमा ५.५३ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा पशुजन्य उत्पादनतर्फ दूध र मासुको उत्पादन क्रमशः १०.१३ प्रतिशत र ४.७७ प्रतिशतले वृद्धि भएको छ भने अण्डाको उत्पादनमा १६.६५ प्रतिशतले कमी आएको छ । माछाको उत्पादन ९.६९ प्रतिशतले वृद्धि भएको छ ।
वनजन्य उत्पादनअन्तर्गत काठको उत्पादन ६५.७ प्रतिशतले वृद्धि भएको छ भने दाउराको उत्पादन ६८.६ प्रतिशतले घटेको छ ।
पुस मसान्तमा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा रु.५८ अर्ब ५२ करोड कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको १२.३८ प्रतिशत हुन आउँदछ ।
उद्योग
समीक्षा अवधिमा अध्ययनमा समेटिएका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा २९.६० प्रतिशत रहेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा १.१२ प्रतिशतले कमी आई १ खर्ब १२ अर्ब ७५ करोड कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा १ खर्ब १४ अर्ब रहेको थियो ।
सेवा समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेसन संख्यामा ३.२० प्रतिशतले वृद्धि भई ४४,६५२ पुगेको छ भने घरजग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा ०.००४ प्रतिशतले कमी आएको छ ।
पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट परिचालन गरेको निक्षेप १९.४२ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब ३० करोड पुगेको छ । कर्जा प्रवाह भने ३.८९ प्रतिशतले घटी रु.४ खर्ब ३५ अर्ब ३८ करोड कायम भएको छ ।
पूर्वाधार
मधेश प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन्। उपर्युक्त अयोजनाहरुमध्ये हुलाकी सडक मार्गको निर्माणको गति तुलनात्मक रुपमा उच्च रहेको छ ।