काठमाडौं : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीको नाफामा भारी गिरावट देखिएको छ ।
गत वर्षको असारमा ९२ करोड ७८ लाख २१ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस अवधिमा २ करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यस अवधिमा आइपुग्दा कम्पनीको व्यापारमा गिरावट आउँदा नाफामा पनि असर परेको हो । गत असारमा १० अर्ब ५८ लाख रहेको व्यापार यस अवधिसम्म आइपुग्दा ७ अर्ब २१ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको अन्य आम्दानी पनि ३ करोड ७४ लाखबाट घटेर २ करोड १४ लाखमा झरेको छ । वित्तीय खर्च २४ करोड ९० लाखबाट बढेर ३७ करोड ३३ लाख पुगेको छ ।
यता, चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको अन्यर इक्विटीमा ५ अर्ब ३२ करोड १६ लाख जम्मा छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँबाट घटेर २.०८ रुपैयाँ कायम भएको छ ।
कम्पनीले बुक बिल्डिङ विधिबाट असार २७ गतेबाट सर्वसाधारणमा आईपीओ निष्कासन गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर जारी गर्न लागेको हो ।
लगानीकर्ताले आईपीओमा न्यूनतम ५० र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
Advertisment