Below Menu
Below Menu

ठूला माछा पक्राउ पर्न थालेपछि सत्तासमीकरण बदलियोः डा स्वर्णिम वाग्ले

ठूला माछा पक्राउ पर्न थालेपछि सत्तासमीकरण बदलियोः डा स्वर्णिम वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु डा स्वर्णिम वाग्ले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई पक्राउ गर्न थालेपछि सत्तासमीकरण फेरबदल चलेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद वाग्दे र सन्तोष परियारले अहिलेको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पक्राउ गरेपछि अरु व्यक्ति पनि पक्राउपर्ने डरले सत्तासमीकरण फेरबदल चलेको आरोप लगाएका हुन् ।

आजको बैठकमा सांसदहरुले मनसुनी वर्षापछि देशभर बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन संसद्मार्फत सरकारसँग माग गरेका छन् ।

सांसद शेरबहादुर कुँवर, हेमराज राईले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो । मनसुनी विपद्का कारण घरबास गुमाएकालाई पुनर्वासको व्यवस्थासहित राहत उपलब्ध गराउन, घाइतेलाई शीघ्र उपचार गराउन, हराइरहेकाको खोजी तीव्र पार्न र जोखिमका रहेका बस्तीको स्थानान्तरणका लागि सांसदहरुले माग गरेका छन् ।

शून्य समयमा सांसदहरु शोभा ज्ञवाली, सन्तोष चालिसे, सीताकुमारी राना, सपना राजभण्डारी, सीता मिजार, सुशीला श्रिपाली ठकुरी, सूर्यमान तामाङ दोङले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धारका कार्यमा शीघ्रता दिन सरकारलाई आग्रह गरे  ।

बाढी, पहिराका कारण देशभरका राजमार्ग अवरुद्ध भएको विषय संसद्मा उठाउँदै सांसदहरुले सहज यातायात आवागमनको व्यवस्था गर्न माग गरे । बाढी, पहिरो र डुबानको जोखिम भएका स्थान पहिचान गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने, आकस्मिक उपचारका लागि अस्पताल तयार पारिनुपर्ने, उद्धारका लागि हवाई एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेलगायत माग सांसदहरुले माग गरे ।

सांसद शान्ति विकले गृहमन्त्रालयले विभिन्न भ्रष्टाचारका काण्ड छानबिनमा ढिलाइ गरेको र राजनीतिक समीकरण फेरबदल हुनुमा वर्तमान सरकारको कार्यशैली जिम्मेवार रहेको आरोप लगाइन् ।

सांसद सम्झना थपलिया हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पुल उपयोगमा नआउँदै भासिएको सदनलाई जानकारी गराउँदै गलत डिजाइन र कमसल निर्माण सामग्रीका कारण भासिएको बताइन् । उनले त्यसबारे अध्ययन गरी दोषीलाई कारबाहीको माग गरिन् ।

सांसद सरस्वती बजिमयले सुन तस्करी प्रकरणबारे छानबिन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न र प्रतिवेदनले देखाएका दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन माग राखिन् ।

अर्का सांसद सराज अहमद फारुकीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरे । मुलुकमा राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनले बताए 

सांसद सूर्यमान तामाङ दोङले पनि राजनीतिक समीकरण बदलिएकाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्नेमा जोड दिए । सांसद सुशीला थिङले राष्ट्रिय परिचयपत्रमा प्रयोग हुने फोटोमा विवाहित महिलाले सिन्दुर पोते लगाउन नपाइने व्यवस्था हटाइनुपर्ने बताए । 

Advertisment

थप समाचार