काठमाडौं : आन्तरिक राजस्व विभागले ढुवानीका साधन धनीहरुलाई स्थायी लेखा नम्बर लिई कारोबार गर्न आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले व्यवसायीहरुलाई प्यान नम्बर लिई कारोबार गर्न भनेको हो ।
ढुवानीका साधन (ट्रक, टिप्पर, ट्र्याक्टर आदि) का केही व्यवसायी र ढुवानी साधन धनी स्वयंले ढुवानी सञ्चालन नगरी अर्को व्यक्ति वा संस्थालाई दिने गरेका सवारीधनीहरुले हालसम्म पनि स्थायी लेखा नम्बर नलिएको विभागले जनाएको छ ।
आयकर नियमावली, २०५९ को नियम २३ मा निर्धारणयोग्य आय आर्जन गर्न चाहने व्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकेको वा आयकर ऐन, २०५८ को परिच्छेद–१७ अन्तर्गत करकट्टी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्ता आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ ।
उल्लिखित कानूनी व्यवस्थाको बर्खिलाप गरी कारोबार गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने विभागले जनाएको छ ।