काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारीको ललितपुर ठैबस्थित मार्ट लिलाम गर्ने भएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै उक्त सहकारीबाट सञ्चालित ललितपुरको ठैबमा रहेको गार्डेन मार्ट र फर्निचर लिलाम गर्ने जनाएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत २५ भदौ शिवशिखर सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै सम्पत्ति तथा दायित्व राफसाफ गर्न समितिमा पठाएको थियो ।
सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा भए पनि सहकारी सञ्चालक समिति खारेज भएर सञ्चालक समितिले गर्ने सम्पूर्ण अधिकार व्यवस्थापन समितिले गर्ने व्यवस्था छ ।
सोही अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ठैबस्थित सहकारी कार्यालयका फर्निचर र ‘गार्डेन मार्ट’ मा रहेको संरचना लिलाम गर्न लागेको हो ।
कार्यालयद्वारा जारी सूचनामा भनिएको छ,‘ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४ ठैबस्थित गौरी लाल श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ३२८ को क्षेत्रफल १ रोपनी २ आना जग्गामा संस्थाबाट संरचना निर्माण गरी गार्डेन मार्ट तथा सहकारी संस्था शाखा सञ्चालनमा रहेको थियो,’ ‘गार्डेन मार्टको संरचना, मार्टभित्र रहेका सामान तथा सहकारी संस्थाका फर्निचर तथा कम्प्युटर उपकरणको न्यूनतम एकमुष्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ भएकोले, सहकारी ऐन २०७४ को परिच्छेद १८, दफा १०६ को खण्ड (ज) बमोजिम सहकारी संस्थाको सम्पत्ति बेचबिखन गर्नुपर्ने भएकाले घरधनी, बचतकर्ता वा वाह्य इच्छुक पक्षले उक्त रकमभन्दा कम नहुने गरी गोप्य शिलबन्दी निवेदन दिनुपर्ने छ ।’
यसका साथै उल्लेखित रकमभन्दा कम नहुने गरी बढीबढाउमा सकार्न चाहे सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र समितिको कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी निवेदन दिन समितिले आह्वान गरेको हो ।
Advertisment