विदेशी विनिमय सञ्चिति साढे १९ खर्ब नाघ्यो, १५ महिनाको आयात धान्ने 

विदेशी विनिमय सञ्चिति साढे १९ खर्ब नाघ्यो, १५ महिनाको आयात धान्ने 

काठमाडौं : कुल विदेशी विनिमय सञ्चिति साढे १९ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यस्तो सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो । 

असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भइ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असारसम्म १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा जेठ मसान्तमा १०.८ छ प्रतिशतले वृद्घि भई रु.२१४ अर्ब ४२ करोड कायम भएको छ । जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । 

असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
 

थप समाचार