चालु खाता दुई खर्ब र शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा

चालु खाता दुई खर्ब र शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा

काठमाडौं : चालु खाता एवम् शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो । 

जेठ मसान्तसम्म शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।
 

थप समाचार