काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मूल्यवृद्धि ४.१७ प्रतिशत रहेको छ ।
त्यस्तै यस अवधिमा आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ ।
जेठ मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७.३ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड रहेको छ ।
नेपाल सरकारको खर्च ११ खर्ब ८१ अर्ब ३० करोड र राजस्व परिचालन ९ खर्ब १९ अर्ब १९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको छ ।