काठमाडौं : राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले खराब कर्जाका कारण सहकारीमा कर्जा जोखिम बढेको उल्लेख गरेका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रको ४६औँ स्थापना दिवसको अवसरमा आज आयोजित ‘सहकारी सुशासनः असल अभ्यास, चुनौती र आगामी बाटो’ विषयक सहकारी संवादमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
सहकारीको जोखिम व्यवस्थापनतर्फ ध्यान दिँदै सञ्चालकले कर्जा नलिने, संस्थागत पुँजी जगेडा कोष पाँच प्रतिशतभन्दा बढी पु¥याउने र कर्जा असुलीमा ध्यान दिनसके सहकारी कहिल्यै नडुब्ने उनको भनाइ थियो । समस्याग्रस्त २१ वटा सहकारी संस्थाको संस्थागत पुँजी शून्य दशमलव पाँच प्रतिशत पनि नभएको हुँदा त्यस्ता सहकारीमा समस्या देखिएको उनले बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका नेतृत्वकर्ताले सुशासनमा ध्यान नदिएकाले केही सहकारीहरू समस्याग्रस्त भएका बताए ।
सहकारीमा भित्रिएको अस्वभाविक विषयलाई समयमै नियन्त्रण गर्न नसक्दा त्यसको असर देशव्यापी फैलिएको भन्दै उनले सहकारीले सदस्यलाई केन्द्रमा राखेर काम गर्ने परिस्थिति सिर्जना गर्न सके समस्या नआउने धारणा राखे ।
सहकारी संवादको समूहगत छलफलमा विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा र महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले सहकारीका असल अभ्यासबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थाले गर्दै आएका क्रियाकलापबारे जानकारी गराएका थिए ।
Advertisment