काठमाडौं : सरकारले सवा तीन खर्बको बजेट घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०८०/८१ मा मुलुकले तीन खर्ब १४ अर्ब ७८ करोड ८६ लाख बराबर बजेट घाटा व्यहोरेको हो ।
यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा वित्त व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार असार मसान्तसम्म वार्षिक लक्ष्यको ७४ दशमलव २९ प्रतिशत आम्दानी र ८० दशमलव ४४ प्रतिशत खर्च भएको छ ।
असार मसान्त्सम्म सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्याङ्कअनुसार यस अवधमिा १० खर्ब ९३ अर्ब ९७ करोड ५९ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ७४.२९ प्रतिशत बराबर हो ।
यस अवधिमा कर राजश्वतर्फ ७४.४४ प्रतिशत अर्थात् १० खर्ब ५८ अर्ब ८९ करोड ६४ लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ७२.३५ प्रतिशत अर्थात् ९ खर्ब ४४ अर्ब ५५ करोड ४८ लाख बराबर असुली भएको छ ।
गत आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म २२.४८ प्रतिशत अर्थात् ११ अर्ब २२ करोड ६४ लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।
आव २०८०/८१ का लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा यस अवधिमा १४ खर्ब ८ अर्ब ७६ करोड ४५ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ८०.४४ प्रतिशत बराबर हो ।
चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा अर्थात् ९ खर्ब ५२ अर्ब ४१ करोड ५१ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ८३.४१ प्रतिशत हो ।
त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा ६३.८७ प्रतिशत अर्थात् एक खर्ब ९१ अर्ब ७१ करोड ७८ लाख बराबर खर्च भएको छ ।
वित्तीय व्यवस्थापनमा ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा ८७.०७ प्रतिशत अर्थात् दुई खर्ब ६४ अर्ब ६३ करोड १६ लाख बराबर खर्च भएको छ ।