Below Menu
Below Menu

मन्त्री पदमा रहुन्जेल किसानको हितमा काम गर्छु: मन्त्री अधिकारी

`१० किलो मल लिन नागरिकता लैजानुपर्ने बाध्यता तत्काल हटाउँछु´

मन्त्री पदमा रहुन्जेल किसानको हितमा काम गर्छु: मन्त्री अधिकारी

धादिङ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल किन्न कृषकहरु लाइनमा बस्नु नपर्ने बताएका छन्।

तत्कालै मलमा जनताको सहज पहुँच हुने वातावरण बनाउन मन्त्रालयमा निर्देशन दिइसकेको उनले बताए।  मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला धादिङ आएका मन्त्री अधिकारीलाई नागरिक समाजले सम्मान गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रमा चुनौतीको चाङ रहेको समेत बताए ।

१० किलो मल लिन नागरिकता लैजानुपर्ने बाध्यता तत्काल हटाउन निर्देशन दिइसकेकाले अब मल सहज प्राप्त गर्न सहज हुने उनको दाबी छ।  मन्त्री पदमा रहुन्जेल मन्त्रालयको जिम्मेवारीमा रहेर कुशलतापूर्वक किसानको हितमा काम गर्ने बताए।

“सकेको राम्रो गर्नेछु, तर मन्त्री पदबाट बाहिरिँदा कलङ्कको टीका नलगाइ बाहिरिनेछु”, उनले भने, “सकेसम्म किसानको हितमा शिर उँचो बनाउने राम्रो काम गर्नेछु, तर गलत काम गर्दिन । नागरिक समाजसँग टाढा छैन । फेरि यहीँ उपस्थित हुन्छु ।”

“मल, बीउविजन अभाव छ । विषादीको अत्यधिक प्रयोग भइरहेका छन् । रैथाने बाली उत्पादन हुन्न, विकासे चिज प्रयोग गरौँ भने जताततै बदमासी मात्रै छ । यस्ता थुप्रै समस्या छन्”, उनले भने, “कृषि क्षेत्रमा म विज्ञ त होइन । तर, विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर म चाँडो भन्दा चाँडो एउटा सङ्कल्प तयार गर्दैछु । किसानको हित हुने गरी प्राप्त जिम्मेवारी पूर्णरुपमा निर्वाह गरेर हेर्न लायक केही न केही परिवर्तन हुने काम गर्छु ।”

Advertisment