काठमाडौं महानगरको राजस्वमा वृद्धि, एक वर्षमा उठायो साढे १० अर्ब 

काठमाडौं महानगरको राजस्वमा वृद्धि, एक वर्षमा उठायो साढे १० अर्ब 

काठमाडौं : काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा साढे १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले असार मसान्तसम्म १० अर्ब ६४ करोड ६७ लाख ९१ हजार १७० रुपैयाँ राजस्व संकलन गरेको हो । 

उक्त रकम आन्तरिक राजस्व, बाँडफाँड प्राप्त राजस्व र आन्तरिक अनुदानबाट भएको आम्दानी हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा सो रकम ३.८१ प्रतिशतले बढी हो । आव २०७९/८० मा महानगरले १० अर्ब २५ करोड ५५ लाख ९६ हजार ४३५ रुपैयाँ राजस्व उठाएको थियो । 

असार मसान्तसम्म आइपुग्दा महानगरपालिकाको आन्तरिक राजस्व संकलनमा वृद्धि भएको छ । अघिल्लो आवमा ५ अर्ब ८२ करोड ६५ लाख ६३ हजार रुपैयाँ रहेको महानगरको आन्तरिक राजस्व ४.३७ प्रतिशतले बढेर ६ अर्ब ८ करोड १४ लाख ३६ हजार रुपैयाँ पुगेको छ । 

यस अवधिमा बाँडफाँडबाट प्राप्त राजस्व पनि २०.५८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा एक अर्ब ८५ करोड ९१ लाख रुपैयाँ रहेको उक्त राजस्व बढेर दुई अर्ब २४ करोड १८ लाख रुपैयाँ पुगेको छ । 

असार मसान्तसम्म आन्तरिक अनुदानमार्फत् महानगरलाई २ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ प्राप्त भएको छ । अघिल्लो वर्षको तुलनामा उक्त रकम ९.५९ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा महानगरले २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । 

कुन शीर्षकमा कति उठ्यो ?

महानगरका अनुसार गत वर्ष सम्पत्ति कर शीर्षकमा एक अर्ब ९ करोड करोड ६६ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । महानगरले घरबहाल करबाट सबैभन्दा बढी २ अर्ब ९१ करोड ८८ लाख ५१ हजार रहेको छ ।  महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । 

असार मसान्तसम्म महानगरले पर्यटन शुल्कबाट १७ करोड ६९ लाख ६१ हजार रुपैयाँ, पार्किङ शुल्कबाट एक करोड २१ लाख ४८ हजार हजार रुपैयाँ, नक्सापास दस्तुर ६७ करोड ९० लाख ८१ हजार रुपैयाँ र अन्य सेवाशुल्कबाट ३० करोड २२ लाख २० हजार रुपैयाँ राजस्व उठाएको छ ।
 

थप समाचार