काठमाडौं : एक वर्षको अवधिमा दोस्रो त्रैमाससम्म ओभर द काउन्टर (ओटिसि) बजारमा ५ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ओटिसी बजारमा ५ अर्ब ५ करोड ४ लाख ७३ हजार रुपैयाँ बराबरको ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता शेयर किनबेच भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार यस अवधिमा सबैभन्दा बढी आईएमई डिजिटल सोलुसनको ४० करोड ८ लाख ९८ हजार ४ सय रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै दोस्रोमा नेपाल हस्पिटालिटी एण्ड होटलको २५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सबैभन्दा कम एभरेष्ट ग्यास उद्योगको चार लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, यस अवधिमा एभरेष्ट हस्पिटालिटीको २० करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने वल्र्ड लिंक कम्युनिकेशनको १२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै यामलिङ हाइड्रोपावरको १३ करोड ५६ लाख, इलेक्ट्रोपावर कम्पनीको २३ करोड ९० लाख, सोपन मल्टी कम्पनीको १० करोड ७५ लाख र काठमाण्डु मेडिकल कलेजको १२ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार त्रिशक्ति सेक्युरिटिजको १० करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल हस्पिटालिटी एण्ड होटलको २५ करोड ४४ लाख, अन्नपूर्ण केबलकारको १४ करोड ३५ लाख र हिल्टन हाइड्रोपावरको ५ करोड बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार सूचीकरण नभएका, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार तथा नामसारी ओटिसीमा कारोबार गर्न सकिने व्यवस्था रहेको छ ।
सोही प्रावधान अनुरूप नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत ओटिसि बजार सञ्चालनमा छ । हालसम्म २४४ कम्पनीहरु ओटिसी बजारमा दर्ता भई कारोबार भएको नेप्सेले जनाएको छ । जसमा धेरैजसो जलविद्युत कम्पनी लगायत वास्तविक क्षेत्रका कम्पनी छन् । दर्ता शुल्क नलाग्ने तथा कारोबारमा सहजता र कारोबार शुल्क न्यून रहेको छ ।



Advertisment