काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले विश्व ऋण परिषद् (ओकू) को निर्वाचनमा आफ्नो उम्मेदवारीको विषयलाई लिएर शुभेच्छा एवम् शुभकामना व्यक्त गर्ने सबैलाई कृतज्ञता व्यक्त गरेका छन् । ओकू सञ्चालक समितिको निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएर प्रजातान्त्रिक पद्धतिमा सामेल भएको भन्दै उसले नेफ्स्कूनको उच्च प्रशंसा गरेको उनले जानकारी गराए।
विश्व क्रेडिट युनियन सम्मेलन-२०२४ को अवसरमा आयोजित ओकूको वार्षिक साधारण सभामा नेपाली साकोस अभियानको प्रतिनिधित्व गर्दै संघका अध्यक्ष ढकालले सञ्चालक सदस्य पदमा उम्मेदवारी दिएका थिए । निर्वाचन भर्खरै सम्पन्न भएको भन्दै अध्यक्ष ढकालले ४ जना सदस्यहरुमा पुरानै सञ्चालकहरु दोहोरिएको जानकारी गराए ।
ओकूका उपाध्यक्ष माइकल लरेन्स, दक्षिण कोरियाली केन्द्रीय बचत संघ नाकुफोकका अध्यक्ष योन्सिक किम, ओकूकी प्रमुख कार्यकारी अधिकृत एलिसा म्याककार्टर ला बोर्डसँगै विभिन्न मुलुकका सहभागीहरुले नेफ्स्कूनलाई निर्वाचनमा सहभागी भएकोमा धन्यवाद दिएका थिए । नेपाली साकोस अभियानको लागि निर्वाचनमा सफलता भन्दा पनि सहभागिता ठूलो कुरा रहेको भन्दै उनले यसले भविष्यमा थप सम्भावनाको ढोका खोल्ने बताए ।
अध्यक्ष चन्द्रप्रसाद ढकालले बोस्टनबाट भने, ‘निर्वाचनमा सफलता भन्दा पनि यसको सुन्दर अभ्यासमा नेफ्स्कून सहभागी भएकोमा ओकू सञ्चालक समितिका साथै अन्य सहभागीहरुले हाम्रो प्रशंसा गर्नुभयो । उहाँहरुले यसलाई राम्रो प्राक्टिस भन्नुभयो । हाम्रा लागि यो सुन्दर सिकाइ भएको छ ।’ अध्यक्ष ढकालले थपे, ‘निर्वाचनको विषयलाई लिएर शुभकामना र शुभेच्छा व्यक्त गर्ने सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु ।’
साथै उनले नेपाली साकोस अभियानका विषयमा सहभागीहरुले अभिरुचि लिएको पनि बताए । विश्व क्रेडिट युनियन सम्मेलनमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा शिवजी सापकोटा पनि सहभागी छन् ।
Advertisment