काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले मंगलबार समुदाय र सदस्य केन्द्रीत सहकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।
सिंहदरबार स्थित लेखा समितिको हलमा झण्डै ६ घण्टा चलेको छलफलमा देशभरका ३४ सहकारी संस्थाका करिब ६० जना सहकारीकर्मीको उपस्थिति थियो ।
सातै प्रदेशका सफल सहकारीको प्रतिनिधित्व रहेको छलफलमा संस्था सफलताको कथा, वित्तीय अवस्था र सुझावहरु पेश भएको थियो । छलफलमा ३४ सहकारीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुले भाग लिएका थिए ।
छलफलमा सहभागी संस्थाहरुमा २० प्रतिशतसम्म संस्थागत पुँजी, शेयर भन्दा जगेडाकोष धेरै, ६५ प्रतिशतसम्म नियमित बचत, नियमित सदस्य शिक्षा, ३१ वटासम्म एकीकरण, ५८ वटासम्म सेवाकेन्द्र, ८५ प्रतिशत सम्म महिला सदस्य, दिदिबहिनी क्लब, ४०प्रतिशतसम्मसम्म युवा सहभागिका, बिद्धार्थी बचत क्लब, यो समयमा पनि पनि सदस्य र कुल सम्पत्ति वृद्धि, जेष्ठ सदस्यलाईआजिवन पेन्सन, संचालक र निजको परिवारलाई ऋण नदिने, सदस्यलाई ९.९९ प्रतिशत मै ऋण, एउटै संस्थाको १ लाख ७३हजारसम्म सदस्य, एउटै संस्थाको १५ अर्ब बढीको बासलात, ४७ प्रतिशतसम्म तरलता, धेरैजसो ५० को दशकको संस्था, सहकारीहरु कुनै न कुनै स्तरिकरण कार्यक्रममा आवद्ध रहेको पाईएको छ ।
छलफलमा कैलालीको नवजीवन सहकारी, कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी, कैलालीको किसान बहुउद्देश्यीय सहकारी, बर्दियाको सिको साकोस, बर्दियाको हाम्रो मध्यवर्ती साकोस, सुर्खेतको विरेन्द्रनगर साकोस, रुपन्देहीको जनउत्थान साकोस, चितवनको युनिक साकोस, धादिङको जनकल्याण साकोस, नवलपरासीको विकू र किसान साकोस, पर्साको कान्तिपुर साकोस, सुनसीको किसान कल्याण साकोस, झापाको सहारा नेपाल साकोस र नेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।
त्यस्तै बागलुङको सिवाईसी साकोस, कास्कीको पोखरा रोयल साकोस, काठमाडौंको चन्द्रागिरि साकोस, ललितपुरको कल्याणकारी साकोस, काभ्रेको बिन्धवासिनी, सामुदायिक र ज्योतिमिर्मिरे सामुहिक साकोस, दोलखाको मिलिजुली कालिञ्चोक, जनसचेतन साकोस लगायतका संस्थाको प्रतिनिधित्व थियो ।
समितिका सभापति सूर्य थापा, समितिका सदस्य र सचिवालयका कर्मचारीहरुले चासोका साथ सफल सहकारीको कथा सुनेका थिए । बिग्रेका, भत्केका, ठगेका, भागेका सहकारीको कथा सुन्दै करिब दुई महिना बितेको बताउँदै सभापति थापाले सफल सहकारीको कथाले सहकारी क्षेत्रलाई अझै बलियो बनाएर राज्यले अगाडी बढाउनु पर्ने बताए ।
महिला सशक्तिकरण, गरिबी निवारण, नेतृत्व विकास, समाजको विभेद अन्त्य गर्न सहकारीको महत्वपूर्ण योगदान रहेको थापाले बताए। बचत ऋणसँग सहकारीलाई उत्पादन र सेवा प्रवाहमा जोड्नु पर्ने उनको भनाई थियो।
Advertisment