काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.८१ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा खुद ब्याज आम्दानी बढे पनि इम्पेरिमेन्ट चार्ज बढेका कारण खुद नाफा घटेको हो। यसका साथै संस्थाको खराब कर्जा बढ्दा संस्थाको नाफामा असर परेको हो ।
असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँ पुगेको भने कुल सञ्चालन आम्दानी ८.५६ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीको खुद फि तथा कमिशन आम्दानी ३३.४७ प्रतिशत घटेको भने सञ्चालन मुनाफा १७.२२ प्रतिशत घटेको छ।
अघिल्लो आवमा २.३७ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ३.६५ प्रतिशत पुगेको छ । यसका साथै लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको। असार मसान्तसम्म लघुवित्तको ७८ पैसा घटेर २ रुपैयाँ ३६ पैसामा झरेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ५४२.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५७ पैसा रहेको छ।
असार मसान्तसम्म ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment