Below Menu
Below Menu

आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन लगानीकर्ताको माग 

आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन लगानीकर्ताको माग 

काठमाडौं : आठ महिनादेखि रोकिएको सार्वजनिक शेयर निष्कासनको प्रक्रिया अघि बढाउन लगानीकर्ताहरुले माग गरेका छन् ।  नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नपालले शनिवार संयुक्त विज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् ।

धितोपत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि प्राथमिक सेयर निष्कासनको प्रक्रियाहरू अगाडि बढ्न सकिरहेको छैन । बोर्डले आगामी दिनमा योग्य कम्पनीहरूको प्राथमिक सेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेमा विश्वस्त रहेको लगानीकर्ताले जनाएका छन् ।

यसका साथै अतियोग्य कम्पनी बाहेक प्रिमियम र बुकबिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्न निरुत्साहित गर्नको लागि समेत लगानीकर्ताले जोडदार माग गरेका छन् । 

कम्पनीहरूको सेयर जारी गर्दा कम्पनीको नेटवर्थ, लाभांश क्षमता, व्यावसायिक योजना एवं कम्पनीको ग्रोथलाई सूक्ष्म अध्ययन गरी प्राथमिक शेयर निष्कासन गर्ने अनुमति दिनुपर्ने लगानीकर्ताको माग छ । 

राष्ट्र बैंकले आर्थिक वर्ष ०८१/०८२ को लागि जारी गरेको मौद्रिक नीतिले आर्थिक क्षेत्र चलायमान बनाउनेकार्यमा नीतिगत अग्रसरता समेत देखाएको छ । 

मौद्रिक नीति स्वागतयोग्य रहेपनि लगानीकर्ताले उठाएका कतिपय जायज मागहरु जस्तैः सेयर धितो कर्जाका जोखिम भार घटाउने एवं एकल ग्राहक मार्जिन प्रकृतिको सेयर कर्जामा लगाइएको १५ करोडको सीमा हटाउने, लघुवित्तकाे लाभांश बितरणमा लगाइएको क्याप हटाउने लगायतका मागहरू अझै पनि सम्बोधन हुन नसकेको लगानीकर्ताको भनाई छ । 

नेपालको पुँजी बजारको आकार दिनप्रतिदिन बढिरहेको र पूँजी बजारलाई चुस्त पारदर्शी एवं पूर्ण व्यावसायिक बनाउन सके यसले अर्थतन्त्रमा ठूलो योगदान गर्ने लगानीकर्ताले औँल्याएका छन् ।

लगानीकर्ताहरूको अभिभावकको रूपमा नेतृत्व गर्ने धितोपत्र बोर्डको अध्यक्ष नहुँदा लगानीकर्ताहरूमा अन्योलता सिर्जना भएको संघको भनाई छ । 

यस्ता कुराहरूलाई मध्यनजर गरी नेपाल सरकारबाट धितोपत्र बोर्डमा, योग्य, इमान्दार, राष्ट्रिय अन्तर्राष्ट्रिय पुँजी बजार सम्बन्धी ज्ञान भएको, धितोपत्र बजार नियामकहरुको अन्तराष्ट्रिय संस्थाको सिद्धान्त तथा अन्तराष्ट्रिय र क्षेत्रीय असल अभ्यास पूर्णरुपमा बुझेको व्यक्तिको छनोट बिधि एवं प्रक्रिया यथासक्य छिटो पूरा गर्न संघको माग छ । 

देशमा विद्यमान आर्थिक मन्दीलाई कम गर्न आर्थिक क्षेत्र चलायमान बनाउने गरी नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट लिएको पहल कदमप्रति संघहरुले धन्यवाद ज्ञापन गरेका छन् । 
 

Advertisment

थप समाचार