Below Menu
Below Menu

नेप्सेको ‘बुलिस ट्रेन्ड’ बारे संसदमा बहसः १४५ अंकले घट्यो परिसूचक, कारोबारमा भने नयाँ कीर्तिमान

नेप्सेको ‘बुलिस ट्रेन्ड’ बारे संसदमा बहसः १४५ अंकले घट्यो परिसूचक, कारोबारमा भने नयाँ कीर्तिमान

काठमाडौं : केही महिनायता बुलिस ट्रेन्डमा अघि बढेको शेयर बजारमा भारी गिरावट आएको छ । शेयर बजारको अस्वभाविक वृद्धिलाई लिएर संसदमा बहस चल्न थाले पछि नेप्से परिसूचक आज उच्च अंकले घटेको छ ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४०.७६ अंकले बढेर २७९६.३८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमानी देखिएको छ । आज बजारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा थ्री स्टार हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज ६ वटा कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

सोमबार प्रतिनिधिसभाको बैठकमा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविकरुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताएका थिए । 

पुँजीबजारमा केहि व्यक्तिले ‘इन्साइडर ट्रेडिङ’ गरेको हुनसक्ने पूर्वअर्थमन्त्री महतले आशंका प्रकट गरेका थिए । “कुनै कम्पनीको भित्री सूचना प्राप्त गरेर त्यसको दुरुपयोग गर्ने र आम लगानीकर्तालाई फस्ने परिस्थिति निर्माण हुन सक्ने बताउँदै उनले केही त्यस्ता संस्थाको शेयर मूल्य बढेकोप्रति गम्भीर रुपमा हेर्न जरुरी रहेको बताएका थिए । 

त्यस्तै सांसद डा अमरेशकुमार सिंहले पनि केही लगानीकर्ताकर्ताले ‘इन्साइडर ट्रेडिङ’ गरेको र केही कम्पनीको शेयर मूल्यमा चलखेल भइरहेको बताएका थिए । लगानीकर्ता र धितोपत्र दलालले चलखेल गरिहेको उनको भनाइ थियो । अनलाईन र सामाजिक सञ्जालबाट लगानीकर्तालाई गलत सूचना दिई भित्री कारोबार भइरहेको उल्लेख गर्दै शेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ र ‘कर्नरिङ’ भएको विषयमा छानबिन समिति गठन गर्न समेत उनले माग गरेका थिए । 

Advertisment

थप समाचार