काठमाडौं : पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले धितोपत्र बोर्डसँग सम्बन्धित काम गर्ने निकायका कर्मचारीकै मिलोमतोमा भित्री कारोबार हुने गरेको दाबी गरेका छन् ।
बिहिबार अर्थसमितिको बैंठकमा बोल्दै उनले भने, ‘सेबोनमा शेयर बजारका सूचना दिएर सूचीकत कम्पनीहरुको मान्छे नै त्यहाँ काम गर्ने गरेको सेबोनको स्टडीमा नै उल्लेख छ । बाेर्डमा समस्या छ भन्ने कुरा म अर्थमन्त्री भएको बेला नै जानकारी भएको हो ।’
नियामक निकायहरुले पारदर्शी ढंगले कारोबार भएको छ की भनेर निरन्तर निगरानी गर्नुपर्ने बताउँदै उनले भने, ‘कतिपयको स्टेमेन्ट नै आएको थियो । त्यहाँको सूचना दिएर इन्साइडर ट्रेडिङ गर्ने गरेको र बजारलाई म्यानुपुलेट गर्नेहरु सक्रिय भएको अर्थमन्त्री हुँदा काे समयमा थाहा पाएको हो । यसका लागि छानबिन समिति बनाएर काम शुरु भएको थियो । सरकार फेरिएपछि अहिले के भयो थाहा छैन ।’
साथै उनले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘संस्थाको पक्ष र विपक्षमा बोल्ने हाम्रो काम होइन । आम लगानी कर्ताको हक हितका लागि बोल्नु पर्छ । बजार बढ्नै हुन्न भनेको होइन । कम्पनीको वित्तीय स्थिति हेरेर लगानी गर्नुहोस् भनेको हो’, उनले भने ।
कारोबारको शुद्धता र नियमन गर्ने काम सेबोन रहेको बताउँदै उनले भने, ‘ केही कम्पनीको मूल्य अस्वाभाविक रुपमा बढेकाले आम लगानीकर्ताको लगानी खेर नजाओस् भनेको हो । सेबोनले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । लगानीकर्ताले पनि बुझेर लगानी गर्नुपर्छ भनेको हाे । यो यसमा मलाई कुनै खेद छैन। ।कसैलाई दुखेको छ भने त्यो मेरो सरोकारको विषय होइन ।’
त्यस्तै उनले पुँजी बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत रहेको बताएका छन् । ‘शेयर बजारले नै देशको अर्थतन्त्र धानेको होइन । शेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भन्दा बजारमा लगानीकर्ताहरूले आफू विरुद्ध स्टेटमेन्ट नै जारी गरे ’, उनले भने ।
पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सूक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्ने उनको भनाई छ ।
Advertisment