काठमाडौं : हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको कुल आम्दानी बढेका कारण नाफा बढेको हो । इन्स्योरेन्सको कुल आम्दानी ६७.०९ प्रतिशतले बढेर ६ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको कुल खर्च ५५.१२ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड ८० लाख रुपैयाँमा पुगेको छ । साथै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी रकम पनि ४७.१९ प्रतिशतले बढेर दुई अर्ब ७५ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
साथै यस अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क अघिल्लो वर्षको तुलनामा ८२.७५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले २ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा नाफा सँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस ३.०७ रुपैयाँ बढेर १२.३४ रुपैयाँ पुगेको छ । त्यस्तै इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको छ।
असार मसान्तसम्म १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment