काठमाडौं : नेपाल धितोपत्र बोर्डले शेयर खरिद वा विक्री गर्न उत्साहित गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बोर्डले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
यसका साथै बाेर्डले सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराउँदै विगतमा समेत यस्तो किसिमको कामकारवाही भए नभएको सम्बन्धमा बोर्डले सुक्ष्म निगरानी गरिरहेको जनाएको छ ।
बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुन बमोजिम कारवाहि गर्ने जनाउँदै बोर्डले समस्त लगानीकर्ताहरुलाई कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध गरेको छ ।
‘विभिन्न संचार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा बोर्डमा गुनासो तथा उजुरीहरु प्राप्त भएको प्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको बोर्डले जनाएको छ ।
‘संचार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्व रोक्न सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।
Advertisment