Below Menu
Below Menu

सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

घोराही : पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् ।

विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा  सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन् । 

दाङको राप्ती गाउँपालिका–५ सिसहनियामा रहेको सिसहनिया साना किसान कृषि सहकारी संस्थामा आबद्ध भएकी राप्ती–८ पिपरीका बेला नेपाली सहकारीमा जोडिएको एक वर्ष भयो । कृषिसम्बन्धी बीउ, मल पाउँदा उनी खुसी छिन्। उनले व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएकी छन्। 

उनले सहकारीमार्फत सहुलियतमा ऋण लगेर लगानी गरेको बताइन् । यस वर्षमात्र घरमा खाएर बचेको चार–पाँच क्विन्टल आलु बेच्ने गरेको उनले  बताइन् । आफ्नोतर्फबाट धेरै महिला दिदीबहिनीलाई पनि सहकारीमा जोड्न सफल भएको उनले बताइन् ।

संस्थामा आबद्ध भएपछि थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको किसान नेपालीले बताइन् । “संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ”, उनले भनिन्। सहकारी संस्थामा मासिक रु पाँच सय बचत गर्दै आएको उनले बताइन् ।
 
उनी जस्तै सहकारीका अर्का सदस्य राप्ती गाउँपालिका–८ का श्यामकली चौधरी सहकारीमा आबद्ध भएपछि खुसी भइन् । आवश्यक परेको बेला मल, बीउ, कृषि औजारजस्ता सामग्री अनुदानमा पाइने भएकाले कृषि व्यवसाय गर्न सहज भएको उनी  बताउछिन्। अहिले १० कठ्ठामा आलुखेती, १७ कठ्ठामा मकैखेती गर्दै आएको उनी भन्छिन् ।

चौधरीले भनिन् , “दुःख नगरेर कृषिमा आम्दानी हुँदैन, आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।” दुई–चार रुपैयाँ आवश्यक परेको बेला अरुसँग हात थाप्नुभन्दा आफैँ कृषि व्यवसाय गरेर आम्दानी पनि राम्रो हुँदै गएको उनले बताइन्। 

उनले भनिन्, “खाली समयमा घरमा बस्नुभन्दा कृषि पेशा आम्दानीको राम्रो स्रोत भएको छ ।” उनले कृषि पेशाबाटै मासिक रु १०–१५ हजार बचत गर्ने गरेको बताइन्  । चौधरी आफूजस्तै अन्य दिदीबहिनीलाई पनि कुनै न कुनै पेशा–व्यवसायमा जोडिन आग्रह गर्छिन् ।
 

Advertisment

थप समाचार