एक महिनामा साढे नौं अर्बको वैदेशिक लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा आकर्षण

एक महिनामा साढे नौं अर्बको वैदेशिक लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा आकर्षण

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामै साढे नौ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । उद्योग विभागको तथ्यांक अनुसार यस अवधिमा ९ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

विभागका अनुसार साउनमा सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ९९ उद्योगका लागि सो रकम बराबरको  लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत आवको सोही अवधिको तुलनामा करिब २०.९१ प्रतिशत अर्थात साढे २ अर्ब रुपैयाँले कम हो । जबकी गत वर्षको सोही अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) गरी ६१ उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो .

उद्योग विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत भने ५९ करोड ७५ लाख ६० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

यस अवधिमा विदेशी लगानीका ५९ नयाँ उद्योगका लागि ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका ९ उद्योगका लागि ३१ करोड २० लाख ६८ रुपैयाँ प्रतिवद्धता आएको हो । साउन मसान्तसम्म दर्ता भएका उद्योगमा ३२३ जनाले रोजगारी पाउने भएका छन् ।

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ५७ वटा र ठूला उद्योग दुई वटा रहेका छन् । विभाग अनुसार साउन मसान्तसम्म सूचना प्रविधि क्षेत्रका २ वटा, निर्माण क्षेत्रका ३ वटा, सेवामुलक क्षेत्रका १२ र पर्यटन क्षेत्रका ४० उद्योग दर्ता भएका छन् ।

त्यस्तै यस अवधिमा कृषि क्षेत्रका दुई वटा उद्योग दर्ता भएका छन् भने पूर्वाधार, जलविद्युत र खनिज क्षेत्रका उद्योगमा लगानी शुन्य रहेको छ ।

विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लाने लाभांश पनि घटेको छ ।

यस अवधिमा विदेशी लगानीकर्ताले नाफा वापत ६ करोड ४० लाख हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् ।साउन मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा उक्त रकम चार अर्ब ५० करोड २५ लाख रुपैयाँ अर्थात ६८.४६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा विदेशी लगानीकर्ताहरुले लाभांश वापत २० करोड ३० लाख ६७ हजार रुपैयाँ लगेका थिए ।

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ११ करोड ४३ लाख ७९ हजार रुपैयाँ, २ लाख ५७ हजार अमेरिकी डलर र ३४ लाख २३ हजार रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
 

थप समाचार