काठमाडौं : विदेशी विनिमय सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्घि भई असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा रु.११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्घि भई रु.१८४८ अर्ब ५५ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।