काठमाडौं : चालु खाता सवा दुई खर्ब रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ ।
समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई रु.५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ अर्ब ४० करोड कायम भएको छ ।
अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रहेको थियो ।
गत वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ ।