काठमाडौं : मूल्यवृद्धि घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेकोछ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ८.६२ प्रतिशत रहेको थियो ।
२०८१ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१५ प्रतिशत रहेको छ । २०८० असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ७.४८ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५५ प्रतिशत, ८.०० प्रतिशत, ७.५६ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो ।
२०८१ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९२ प्रतिशत, तराईको ३.२१ प्रतिशत, पहाडको ३.७७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०८० असार महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.७० प्रतिशत, ७.४८ प्रतिशत, ६.९८ प्रतिशत र ८.१९ प्रतिशत रहेको थियो ।
Advertisment