काठमाडौं : राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका नवनियुक्त सचिव अर्जुनप्रसाद पोखरेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गरेको छ ।
महासंघका अध्यक्ष ओमदेवी मल्लले सचिवलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी अभियानको साझा धारणाको विषयमा जानकारी गराइन् । उनले सहकारी ऐन २०७४ मा रहेको कर्जा असुली न्याधिकरण, कर्जा सुचना केन्द्र, बचत तथा कर्जा सुरक्षणको कोषको गठन गर्न पहल भइरहको र त्यसका लागि सचिवबाट सकारात्मक पहल हुने अपेक्षा राखिन् ।
संविधानसभा सदस्यसमेत रहेकी अध्यक्ष मल्लले सहकारी प्रवद्र्धन कोषको कार्यन्वयनका लागि समेत अनुरोध गरिन् । उनले भनिन्, ‘अहिले नयाँ ऐन समेत ड्राफ भएको भन्ने सुनिन्छ अभियानलाई जानकारी नहुनु विडम्बना नै हो । अहिले नयाँ ऐन भन्दा पनि यहि ऐन संशोधन गरेर जानुपर्छ भन्ने हाम्रो बुझाई छ ।’
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारीको ऐन कानुन अभियानसँग समन्वय गरेर बन्ने तथा संशोधन हुने बताए । ‘त्यसमा सरोकारवालालाई कतिबेला सहभागिता गराउने भन्ने विषय भने रहन्छ ।’ उनले भने, ‘अर्थतन्त्रको एउटा खम्बाका रुपमा रहेको सहकारीलाई कमजोर बनाएर अर्थतन्त्र अगाडि नबढ्ने भएकाले सरकारले यसको समस्या समाधानमा विशेष प्राथमिकता दिएको छ ।’
उनले अर्थतन्त्रका तीनवटै खम्बा सवलीकरण हुनुपर्ने भएकाले आफूले सोहि अनुरुप काम गर्ने बताए । उनले दोस्रो तहको नियामक निकायको गठनको विषयमा पनि अभियानसँग बसेर साझा धारणा निर्माण गर्ने बताए ।
उनले कर्जा असुली न्याधिकरण, कर्जा सुचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोषका विषयमा भइरहेका संरचनासँग सहकार्य गर्न सक्ने अवस्थाको विषयमा समेत सोच विचार गर्न सकिने बताए । उनले अभियानसँग निरन्तर छलफलमा रहेर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘हामी एउटै उद्देश्यमा छौं । सहकारी विना सरकारको गरिवी न्युनिकरणको लक्ष्य हासिल हुन सक्दैन ।’ उनले भने । सचिव पोखरेलले युवालाई आकर्षण गर्ने कार्यलाई पनि सहकारीले अगाडि बढाउन सक्ने औल्याए । सो अवसरमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको विषयमा प्रस्तुती गरेकी थिइन् ।
नवनियुक्त सचिवको बधाइ ज्ञापन कार्यक्रममा महासंघका उपाध्यक्षद्वय खेम पाठक, डिवी बस्नेत, संचालकहरु टेकप्रसाद चौलागाई, काशीराज बराल, परितोष पौडेल, सुमन नेपाल, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष जानुका थापालगायतको उपस्थिति थियो ।
Advertisment