काठमाडौं : आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको पहिलो महिना साउन मसान्तसम्म लक्ष्यको ८०.८५ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा ४४ अर्ब ९७ करोड ६६ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
साउन मसान्तसम्म विभागले ५५ अर्ब ८३ करोड ८४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यस अवधिमा आयकरबाट २० अर्ब ४७ करोड १३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा १५ अर्ब ३१ करोड २ लाख रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ७४.७९ प्रतिशत हो ।
साउन मसान्तसम्म विभागले घरबहाल करबाट लक्ष्यको ४७.९६ प्रतिशत राजस्व संकलन गरेको छ । उक्त शीर्षकबाट ५२ करोड २३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले २५ करोड ५ लाख रुपैयाँ उठाएको हो ।
त्यसैगरी, विभागले ब्याजबाट यस अवधिमा ६ अर्ब ७० करोड ३१ लाख रुपैयाँ राजस्व उठाएको छ । यस अवधिमा १० अर्ब २५ करोड २१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । लक्ष्यको ६५.३८ प्रतिशतमा मात्रै उठाउन सफल भएको छ ।
विभागका अनुसार भ्याटबाट यस अवधिमा लक्ष्यको ७८.६६ प्रतिशत राजस्व संकलन भएको छ । भ्याटबाट १६ अर्ब ३२ करोड ९० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले १२ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ राजस्व उठाएको हो ।
चालु आवको साउन मसान्तसम्म अन्तशुल्क शीर्षकमा ८ अर्ब २० करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको १०२.९० प्रतिशत हो । विभागले उक्त शीर्षकमा ७ अर्ब ९७ करोड ४ लाख रुपैयाँ राजस्व उठाउन लक्ष्य लिएको थियो ।
त्यस्तै यस अवधिमा स्वास्थ्य शीर्षकमा विभागले लक्ष्यको २५६.८६ प्रतिशत राजस्व संकलन गरेको छ । स्वास्थ्य शीर्षकमा १९ करोड ८७ लाख रुपैयाँको लक्ष्य लिएको विभागले ५१ करोड ५ लाख रुपैयाँ उठाएको हो ।
यस अवधिमा विभागले शिक्षा शीर्षकमा पनि राजस्वको लक्ष्य भेटेको छ । साउन मसान्तसम्म शिक्षा शीर्षकमा ८ करोड १२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले २१ करोड ९१ लाख रुपैयाँ उठाएको हो । जुन लक्ष्यको २६९.६६ प्रतिशत हो ।
यस अवधिमा विभागले अन्य शीर्षकमा एक करोड ३१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ९३ करोड ७९ लाख रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ७१४५.६७ प्रतिशतले बढी हो ।