काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्र नेपालले सवा एक खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले एक खर्ब १६ अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । एक महिनामा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ८७१ लाख रुपैयाँ बराबरको सामान आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।
नेपालले वैदेशिक व्यापार गर्ने अधिकांश साझेदार मुलुकसँग नेपालको व्यापार घाटामा रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार साउन मसान्तसम्म नेपालले विश्वका १०३ वटा मुलुकसँग व्यापार गरेको छ । जसमध्ये ९० वटा देशसँग नेपालको व्यापार घाटामा छ भने बाँकी १३ देशसँगको व्यापारमा भने नेपालले नाफा गर्दै आइरहेको छ ।
विभागका अनुसार १३ देशसँगको व्यापार नाफा पनि न्यून मात्रामा रहेको छ । सरकारले निर्यात प्रवर्द्धन गर्ने लक्ष्यसहित बनाएका योजनामा नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) समेत सञ्चालनमा ल्याइएको छ । तर, यो रणनीतिमा समेटिएका वस्तुको निर्यात झन् घटिरहेको छ ।
विभागका अनुसार चालु आवको साउन मसान्तसम्म सबैभन्दाबढी व्यापार घाटा व्यहोरेका मुलुकमा भारत र चीन रहेका छन् । एक महिनामा नेपालले भारतसँग ७० अर्ब १० करोड ४२ लाख १६ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
साउनमा मुलुकले भारतबाट ११ अर्ब ६८ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गर्दा ७५ अर्ब ७८ करोड ८ लाख हजार सामान निर्यात गरेको छ ।
त्यस्तै यस अवधिमा चीनसँगको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख ४६ हजार रुपैयाँ रहेको छ । चीनबाट २४ अर्ब ५४ करोड २३ लाख ८१ हजार आयात हुँदा १५ करोड ७६ लाख ३५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
चालु आवको यस अवधिमा अष्ट्रेलियासँगको व्यापार घाटा एक अर्ब ९२ करोड ५३ लाख ४३ हजार रुपैयाँ रहेको छ । त्यस्तै नेपाललेइन्डोनेसियासँगको व्यापारघाटा एक खर्ब २६ करोड १ लाख, इटालीसँग ३३ करोड ५९ लाख ७४ हजार र मलेसियासँग एक अर्ब ४७ करोड ३४ लाख २ हजार व्यापार घाटा व्यहोरेको छ ।
यस अवधिमा कतारसँगैको वैदेशिक व्यापारमा नेपालले २ अर्ब ९१ करोड ६८ लाख ४९ हजार व्यापार घाटा व्यहोरेको छ । त्यस्तै टर्कीसँग ३ करोड २९ लाख ६७ हजार, जापानसँग ४५ करोड १९ लाख ८८ हजार र अमेरिकासँगको वैदेशिक व्यापारमा एक करोड ४८ लाख ३८ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहारेको छ ।
यस अवधिमा नेपालको वैदेशिक व्यापारमा नाफामा रहेका देशहरुमा १३ वटा रहेका छन् । जसमा अफगानिस्तानसँगको वैदेशिक व्यापारमा १० करोड ७८ लाख नाफामा रहेको छ । नाफामा रहेका अन्य देशहरुमा बेल्जियम, मौरिसस, ओमान, आइसल्याण्ड, उज्वेकिस्तान लगायतका देशहरु रहेका छन् ।
Advertisment