काठमाडौं : चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सरकारको ऋण ४१ अर्ब ११ करोड रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्म २३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको यस्तो ऋण थपिएर २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।
कार्यालयका अनुसार कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४३.३४प्रतिशत हुन आएको छ ।
यस अवधिसम्म सरकारले तिर्न बाँकी ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४३.३४ प्रतिशत कायम भएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.१० तथा बाह्य ऋण २२.२४ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक परितालन गर्ने लक्ष्य राखिएको छ । एक महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण ४३ अर्ब ५९ करोड रूपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण ४० अर्ब रुपैयाँ रहेको छ भने बाह्य ऋण ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
उक्त ऋण वार्षिक बजेट विनियोजनको आधारमा ५.७६ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ०.४१ प्रतिशत हो ।
यस अवधिमा सरकारले सावाँ र ब्याज वापतको २३ अर्ब १८ करोड ९९ लाख रूपैयाँ भुक्तानी गरेको छ । यो वार्षिक बजेट विनियोजनका आधारमा ५.७६ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनका आधारमा कुल ऋण सेवा खर्च ०.४१ प्रतिशत हो ।
सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत १९ अर्ब २७ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । आन्तरिक तर्फको १७ अर्ब र बाह्य तर्फको २ अर्ब २७ करोड ५ लाख रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको हो ।
कार्यालयका अनुसार यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको ब्याज वापत ३ अर्ब ९१ करोड रुपैयाँ भुक्तानी गरेको छ । जसमा आन्तरिक ऋणकोे ब्याज भुक्तानीमा ३ अर्ब ६० करोड ५४ लाख रूपैयाँ खर्च भएको छ भने बाह्य ऋणको ब्याज भुक्तानी गर्न ३१ करोड ४ लाख रूपैयाँ खर्च भएको छ ।