काठमाडौं : काठमाडौं महानगरपालिका अन्र्तगतको सहकारी विभागले एक हजार १२६ सहकारीलाई कारबाही गर्ने भएको छ । विभागले समयमा विवरण अद्यावधिक नगर्ने संस्थालाई कारबाही गर्ने तयारी गरेको हो ।
विभागले गत आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक साधारण सभा गरेर माघसम्म विवरण अद्यावधिक गरेका र बाँकी रहेका संस्थाहरुको विवरण सार्वजनिक गरेको छ ।
महानगरले सार्वजनिक गरेको सूची अनुसार अधिकांश सहकारीले विवरण अध्यावधिक नगरेको देखिएको छ । विभागका अनुसार पुस मसान्तसम्म ८१२ वटाले संस्थाले विवरण अध्यावधिक गरेका छन् भने बाँकी ११२६ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।
काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ८१ उपदफा २ को १ मा भएको व्यवस्था अनुसार समयमा विवरण अध्यावधिक नगर्ने संस्थालाई जरिवाना हुने छ ।
सहकारी संस्थाहरुले तोकेको सूचना, विवरण, प्रतिवेलन तोकिएको समयमा नदिएमा ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा व्यवस्था छ । सोही व्यवस्था अनुसार विवरण अध्यावधिक नगर्ने संस्थाहरु कारबाहीमा पर्ने भएका छन् ।
विभागका अनुसारमा महानगरपालिकामा कार्यक्षेत्र रहेका बचत तथा ऋण सहकारी संस्थाको संख्या १ हजार ५९५ रहेको छ । जसमा विवरण अध्यावधिक गर्ने संस्था ६५३ वटा रहेका छन् भने ९४२ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।
त्यस्तै महानगरभित्र कार्यक्षेत्र भएका बहुउद्देश्यीय सहकारीको संख्या २९८ रहेको छ । जसमा १४४ वटा सहकारीले विवरण अध्यावधिक गरेका भने १५४ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।
त्यसैगरी कृषितर्फमा १४ वटा कृषि सहकारीमा १० वटाले विवरण अध्यावधिक गरेका छैनन् भने ४ वटाले गरेका छन् । यस्तै उपभोक्ता सहकारी तर्फ १४ वटा संस्थामध्ये चार संस्थाले विवरण अध्यावधिक गरेका छन् भने बाँकी १० संस्थाले विवरण अध्यावधिक नगरेको विभागले जनाएको छ ।
त्यस्तै महानगरमा कार्यक्षेत्र रहेका पाँच स्वास्थ्य सहकारी संस्थामध्ये ३ वटाले विवरण अध्यावधिक गरेका छन् भने २ वटाले छैन् । सिपमुलक तीन सहकारीमध्य २ वटाले विवरण अध्यावधिक गरको छन् भने एउटा संस्थाले विवरण अध्यावधि नगरेको विभागले जनाएको छ ।
यस्तै पर्यटनतर्फ रहेको एउटा सहकारीको विवरण अध्यावधिक भएको छ भने तीन वटा श्रमिक सहकारीमध्ये एउटाको विवरण अध्यावधिक भएको छ भने २ वटाले विवरण अध्यावधिक गर्न बाँकी छ ।
त्यसैगरी शिक्षातर्फ महानगरमा सञ्चालित दुई वटा सहकारीले विवरण अध्यावधिक नगरको देखिएको छ भने चिया, साझा र सञ्चार र अन्यतर्फ क्रमशः १÷१ वटा सहकारी रहेका छन् । यी चार वटाले नै विवरण अध्यावधिक नगरेको विभगाले जनाएको छ ।
Advertisment