काठमाडौं : बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो ।
गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४४ प्रतिशतमा पुगेको थियो । तर, चालु आवको साउन मसान्तसम्मको तथ्यांक हेर्दा यो संख्या ४२.७० प्रतिशतमा सिमित भएको छ ।
बीमाको दायरा विस्तारमा संकुचन
बीमाको दायरा विस्तारका लागि प्राधिकरणले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । स्थानीय तहहरुको समन्वयमा बीमा क्षेत्रका बारेमा अन्तक्र्रिया कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । तर, बीमा दायरा विस्तारमा भने वृद्धि हुन सकेको छैन ।
पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीका कारण बीमा क्षेत्रमा पनि असर परेको बीमा विज्ञ बताउँछन् । मुलुकमा देखिएको आर्थिक संकट, बजारको महंगी र बैंकको बढ्दो ब्याजदरका कारण बीमा क्षेत्रलाई प्राथमिकतामा नराखेको उनीहरुको भनाई छ ।
साँघुरिदै व्यवसाय
बीमा क्षेत्रको दायरा संँगसँगै बीमा कम्पनीहरुहरुको व्यवसाय पनि घट्दै गएको छ । गत वर्षको साउन मसान्तसम्म १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आवको सोही अवधिमा आइपुग्दा ५.२६ प्रतिशतले घटेर १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँमा सिमित भएको छ ।
यता निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा भने सामान्य वृद्धि देखिएको छ । साउन मसान्तसम्म ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको छ ।
गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ८.१७ प्रतिशतले बढेको हो । गत वर्षको साउन मसान्तसम्म तीन अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बराबरको कुल निर्जीवन बीमाशुल्क संकलन भएको थियो ।
प्राधिकरणका अनुसार निर्जीवन र जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क संकलन भने २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो बीमाशुल्क २३ अर्ब ५९ करोड २८ लाख रुपैयाँ रहेको थियो ।
चालु आवको साउन मसान्तसम्ममा कुल जीवन बीमालेख संख्या २.२४ प्रतिशतले घटेर एक करोड ३७ लाख ७ हजार २५१ मा सिमित भएको छ भने निर्जीवन बीमालेख संख्या १२.८५ प्रतिशतले बढेर २ लाख ४१ हजार ३१४ मा पुगेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेकको जीवन बीमालेख संख्या १.१२ प्रतिशतले बढेर ५६ लाख ५६ हजार ६०४ मा पुगेको छ । त्यस्तै, म्यादि र लघुम्यादि जीवन बीमालेख संख्या ११.९३ प्रतिशतले घटेर ५९ लाख ४५ हजार ६७३ रहेको छ ।
यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्यामा भने वृद्धि भएको छ । गत आवको साउन मसान्तसम्म १६ लाख ७६ हजार २९३ वैदेशिक रोजगार बीमालेख संख्या रहेको यस अवधिमा २५.५७ प्रतिशतले बढेर २१ लाख ४ हजार ९७४ मा पुगेको छ ।
त्यसैगरी गत आवको सोही अवधिमा २ अर्ब २९ करोड ८० लाख रुपैयाँ रहेको प्रथम जीवन बीमाुशल्क २३.८८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ९८ लाखमा पुगेको छ भने नविकरण जीवन बीमाशुल्कमा भने ९.०९ प्रतिशतले घटेको पाइएको छ ।
त्यस्तै, यस अवधिमा म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १७.४८ प्रतिशत रहेको छ भने म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या ३५.८६ प्रतिशत रहेको छ ।
कार्यालयसँगै बढे ६० जना कर्मचारी
प्राधिकरणका अनुसार यस अवधिमा बीमा कम्पनीहरुको कार्यालय र कर्मचारीको संख्या भने बढ्दै गएको छ । यस अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या २.५२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १४.६४ प्रतिशतले घटेको छ ।
प्राधिकरणका अनुसार गत आवको साउन मसान्तसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ७९९ रहेको थियो भने चालु आवको यस अवधिमा आइपुग्दा यस्तो संख्या बढेर २ हजार ९९२ मा पुगेको छ ।
गत वर्षका साउन मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बीमा कम्पनीहरुका कर्मचारी ६० जना बढेका छन् । गत आवको सोही अवधिमा ११ हजार १५२ कर्मचारी रहेका बीमा कम्पनीहरुमा यस अवधिमा आइपुग्दा बढेर ११ हजार ६९२ जना रहेका छन् ।
साउन मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको कर्मचारी ४.१ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको कर्मचारी ५.२७ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment