भ्रष्टाचार आरोपमा तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर 

भ्रष्टाचार आरोपमा तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार आरोपमा तिरहुत गाउँपालिका, सप्तरीका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक तीर्थमाया खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार तिरहुत गाउँपालिका वडा नं. ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण रंगरोगन तथा व्यवस्थापन सम्बन्धी कार्य अधुरो छाडेको तथा कुनै कामै नगरी रकम हिनामिना गरेको उजुरी परेको थियो । 

सोही निवेदनका आधारमा अनुसन्धान गर्दा सो गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव र इन्जिनियर इक्रामले आव २०७५/०७६ मा वडा नं. ५ मा पर्यटन क्षेत्रमा गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन, सम्वर्द्धन तथा व्यवस्थापन कार्यको लागि योजनाको सम्झौता पत्रमा सहीछाप तथा स्वीकृत गरेको आयोगको ठहर छ । 

उनीहरुले कम काम गरी बढी काम गरेको भनी तयार गरेको प्राविधिक मूल्याङ्कन सहितको नापी किताब र कार्य सम्पन्न प्रतिवेदन पेश गरी भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी ११ लाख १९ हजार ९४९ दशमलव ३३ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको आयोगले जनाएको छ ।

सोही कार्यमा तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिको सदस्यहरु दुर्गानन्द यादव, विरेन्द्र कुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरीको पनि संलग्नता रहेको आयोगले जनाएको छ । 

त्यसैगरी आर.सी.सी. गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा सम्बर्धन योजना उपभोक्ता समितिको अध्यक्ष शिवनाथ चौधरी, सचिव देव नारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीले आव २०७५/०७६ मा मा वडा नं. ५ मा पर्यटन क्षेत्रमा गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन, सम्बर्धन तथा व्यवस्थापन कार्यको लागि २०७५ चैत २२ गतेदेखि काम सुरु गरी २०७६ जेठ ३० गतेसम्म (६८ दिन) मा सम्पन्न गर्ने गरी योजनाको सम्झौता गरी÷गराई कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको भनी शर्त एवं सम्झौता विपरीत भए गरेको आयोगको भनाई छ ।

उनीहरु विरुद्ध जनही सोही रकम बराबरको मागदावी गर्दै आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यस्तै  तिरहुत गाउँ कार्यपालिकाको कार्यालयका लेखा प्रमुख सोनु कुमार सोनीले योजनाको भुक्तानी गर्दा Provisional Sum -PS  इकाई कायम रहेको आइटमहरुको भए गरेको कार्यहरुको बिल भरपाई चेकजाँच गरी नियमानुसार भुक्तानी नगरी ५ लाख ३९ हजार ३८५ दशमलव ८९ रुपैयाँ बढी भुक्तानी गरे÷गराएको  आयोगले जनाएको छ । 

उनीहरुले प्रथम रनिंग बिलको भुक्तानी लिंदा उपभोक्ता समितिले पेस गरेको बिल बिजकहरु जारी भएको मिति योजना सम्झौता मिति भन्दा अगावै जारी भएको देखिएवाट उक्त बिल भरपाई झुट्टा तथा नक्कली भएको पुष्टि भएको अवस्थामा उक्त झुट्टा बिल बिजक बापतको १ लाख ९५ हजार ८९५ रुपैयाँ गरी जम्मा ७ लाख ३५ हजार २८० दशलमव ८९ बढी भुक्तानी गरेको पुष्टि भएको आयोगको भनाई छ ।

उनीहरु विरुद्ध आयोगले ७ लाख ३ हजार २८० दशमलव ८९ रुपैयाँ बिगो कायम गरी कैद र विगो जरिवाना समेत मागदाबी गर्दै मुद्दा दायर गरेको छ 
 

थप समाचार