काठमाडौं : हालसम्म ३० कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका छन् । यस अवधिमा चार हाइड्रोपावर कम्पनीसहित ३० कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
लाभांश घोषणा गर्ने कम्पनीहरुमा १८ वटा म्युचुअल फन्ड, चार वटा हाइड्रोपावर, एभरेष्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, तीन मर्चेन्ट बैंक र तीन अन्य कम्पनीहरु रहेका छन् ।
हाइड्रोपावरतर्फ अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद र बोनस गरी ९.४७३७ प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै सुपरमाई हाइड्रोपावरले १२.६३ प्रतिशत, भगवती हाइडो«पावर डेभलप्मेन्ट कम्पनीले १४.७३६८ प्रतिशत र माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
त्यसैगरी बैक तर्फ यस अवधिमा एभरेस्ट बैंक लिमिटेडले मात्र गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
हालसम्म मर्चेन्ट बैंक तर्फ तीन कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमा मुक्तिनाथ क्यापिटल ७.५ प्रतिशत, सिटिजन क्यापिटलले १५.५ प्रतिशत र एनआइसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत लाभांश वितरण गर्ने भएका छन् ।
लाभांश घोषणा गर्ने अन्य कम्पनीहरुमा गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
यस अवधिमा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई १४.७४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने पूर्वाञ्चल ल्युब आयलले १०.५२६ प्रतिशत नगद र सिबिआइएल सेक्युरिटीजले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
१८ म्युचुअल फन्डद्वारा लाभांश घोषणा
गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्नेमा १८ वटा म्युचुअल फण्डहरु रहेका छन् । यस अवधिमा सबैभन्दा बढी प्रतिफल दिनेमा सानिमा इक्विटी फण्ड रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
त्यस्तै सानिमा क्यापिटल अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डले १० प्रतिशत र सानिमा गा्रेथ फन्ड पनि १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।
सन राइज क्यापिटल अन्तर्गतका सनराज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत र सनराइज फस्र्ट म्युचुअल फन्डले १२.५ प्रतिशत लाभांश दिने भएका छन् ।
त्यसैगरी एनआईसी एशिया सेलेक्ट –३० ले १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले १०.५ प्रतिशत, एनआइसी एशिया डाइनामिक फन्डले १० प्रतिशत र एनआइसी एशिया ग्रोथ फन्डले ९.५ प्रतिशतले लाभांश दिने भएका छन् ।
गत असारसम्मको मुनफाबाट एनआइसी ब्यालेन्स् फन्डले इकाइधनीहरुलाई ९.२५ प्रतिशत प्रतिफल दिने भएको छ । त्यस्तै लक्ष्मी क्यापिटलका लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत र लक्ष्मी उन्नति कोष ७.५ प्रतिशत लाभांश दिने भएका छन् ।
गत आर्थिक बर्षको नाफाबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७ प्रतिशत नगद प्रतिफल दिने घोषणा गरेको छ । त्यसैगरी गत वर्षको मुनाफाबाट कुमारी धनवृद्धि योजनाले इकाईधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश र कुमारी इक्विटी फण्डले पनि ९.५ प्रतिशत नगद प्रतिफल दिने घोषणा गरेका छन् ।
यस अवधिमा एआइबीएल ग्रोथ फण्डले ६.३५ प्रतिशत, आरबिबि म्युचुअल फण्डले ८.७४ प्रतिशत र आरबिबि म्युचुअल फण्ड –१ ले इकाईधनीहरुलाई ३.८१ प्रतिशत प्रतिफल दिने घोषणा गरेका छन् ।
Advertisment